काभ्रे । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति भयो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ ।
गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका– २ नारायणटारबाट बुधबार यसको सुरुवात गरेका छन् । उनले उक्त पालिकाको वडा नम्बर २ का तीनजना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको सुरु गरेका हुन् । त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र सुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे ।
उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गरेका थिए ।
गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरु गर्न ढिलो भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए । सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख निकासा गरेको छ भने काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ ।
रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्नेछ ।
बढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरु गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकै पटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए