काठमाडौँ । संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बुधबारदेखि धनुषाको लालगढमा सुरु भएको छ ।
मधेश प्रदेश सभा सचिवालयद्वारा आयोजित तीन दिने सम्मेलनमा उपसभामुखहरूको भूमिकासँगै नीतिगत सुधारका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको उपलब्धिहरूलाई आम जनसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न नसकिएकोमा बताए। उनले भने, “संघीयता कार्यान्वयन भएको सात-आठ वर्ष बितिसक्यो । यस अवधिमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा थुप्रै काम भएका छन् । तर तिनलाई प्रचार गर्न सकेनौँ ।”
मुख्यमन्त्री सिंहले संघीयताको जननीको रहेको बताउँदै उनले नेपाललाई आफ्नै पहिचानमा चिनाउनुपर्ने आवश्यकता औँल्याए । उनले थप्दै भने, “हामी नेपाललाई विशुद्ध रूपमा नेपाल बनाउनुपर्छ । हाम्रो देशमा बुद्ध, सीता र पशुपतिनाथ छन् । प्राकृतिक पर्वत र सम्पदाहरू छन् जसलाई प्रवर्धन गर्न सके पर्यटनमार्फत देशको अर्थतन्त्र मजबुत बनाउन सकिन्छ ।”
मुख्यमन्त्री सिंहले सांसदहरूको प्रमुख भूमिका कानुन निर्माण हो भन्ने विषयमा जनचेतना अभाव रहेको पनि उल्लेख गरे । उनले सडक, पुल र अस्पतालका विषयलाई लिएर जनताले गुनासो त सुनाउँछन् तर एक जनाले पनि सांसदहरूले कति वटा कानुन बनाए भनेर सोध्दैन भन्दै प्रश्न गरे ।
सम्मेलनमा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले नेपालको राजनीतिक इतिहासमा संसदीय अभ्यासको निरन्तरतामाथि प्रकाश पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबभन्दा उत्कृष्ट शासन प्रणालीको रूपमा व्याख्या गरे । उनले विधेयक निर्माण, परीक्षण, निरीक्षण र संसदीय निगरानीलाई संस्थागत गर्दै जानुपर्नेमा जोड दिए ।
सभामुख मण्डलले वर्तमान संविधान गतिशील दस्ताबेज भएको र त्यसलाई आत्मसात गर्नुपर्ने बताउँदै उनले संविधान फेर्ने प्रवृत्ति राज्य सत्ता अस्थिरताको प्रमुख कारण भएकाले त्यसलाई निषेध गर्नुपर्ने धारणा राखे ।
सम्मेलनमा प्रतिनिधिसभा उपसभामुख इन्द्रेणी राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र उमिला अर्याल, प्रदेश उपसभामुखहरू बबिताकुमारी राउत (मधेश), सुजना दंगाल (कोशी), अमरसा चापागाईं (बागमती), बिनाकुमारी थापा (गण्डकी), मनेका खाँड केसी (लुम्बिनी), यशोदा न्यौपाने (कर्णाली), र कौशिला देवी चौधरी (सुदूरपश्चिम) सहभागी छन् ।
कार्यक्रममा संविधानविद् तथा प्रशासन विज्ञ काशीशरण दहालले पनि संसदीय अभ्यास र संघीयता सुदृढीकरणका लागि आवश्यक विधि संरचनाबारे प्रस्तुति दिए । सम्मेलनमा उपसभामुखहरूबिच अनुभव आदानप्रदानसँगै भविष्यका सुधारात्मक सुझावहरू प्रस्तुत गरिने छ ।
संसदीय अभ्यास सुदृढ गर्न आयोजित यो सम्मेलनलाई संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण पहलको रूपमा हेरिएको प्रशासन विज्ञ दाहालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”