Safal Khabar - तिहारै आयो : देउसी रे ! देउसी रे भन : देउसी रे !!
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
तिहारै आयो : देउसी रे ! देउसी रे भन : देउसी रे !!
बुधबार, २१ कार्तिक २०७५, १५ : २२
तिहारै आयो : देउसी रे ! देउसी रे भन : देउसी रे !!

जसोतसो दुःखै गरी दसैँलाई बिदा गरिएको छ । दसैँलाई बिदा गर्दा नगर्दै नेपालीको घरआँगनमा तिहारको रमझम सुरु भइसकेको छ । आँगनमा भैलिनीहरु आइरहेका छन् । दसैँ उम्काएर आराम गर्न नपाउँदै लगत्तै कान्छो चाड तिहार आयो । तिहार भन्नेबित्तिक्कै सबैलाई देउसीको सम्झनाले सताउँछ । तिहारको पहिचान देउसी हो । देउसी नखेली तिहार जाँदैन भन्ने मान्यता पनि छ । 
रमाइलैरमाइलोको चाड हो तिहार । तिहारलाई कान्छो चाड मानिने भएकाले तिहार हामी सबैको प्यारो चाड पनि हो । एकातिर दसैँमा हालेको पिङ तिहारसम्म खोलिदैन भने अर्कोतिर ‘देउसी रे’को रमाइलोले सीमा काटेको हुन्छ ।  
यतिमात्र कहाँ हो र तिहारमा घरघरमा हुने झिलिमिलीको जति बयान गरे पनि पुग्दैन । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई यमपञ्चक अर्थात् तिहार भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकलाई तिहार अर्थात् दीपावलीको नामले पनि पुकारिन्छ । 
तिहारका गीतहरु रेडियो, टेलिभिजनहरुमा गीत घन्कन थालिसकेको छ । झिलिमिलीको चाड, देउसीको चाड, मिठाईको चाड, फूलको चाड, पिङको पनि चाड अनि कुकुरदेखि गाईसम्मको चाड हो तिहार । यो सबैको चाड तिहारमा खेलिने ‘देउसी रे’को अझ विशेष महत्व छ । 

लक्ष्मीपूजा, गोवद्र्धन पूजा र भाइटीकाको दिन खुब खेलिन्छ देउसीभैलो । केटाकेटीहरु देउसीभैलो भनेपछि हुरुक्कै हुन्छन् । कति केटाकेटीहरु त यस वर्षको तिहारमा देउसी खेल्नको लागि समूह बनाइसकेका छन् । ‘हामी त देउसी खेल्ने सुरु गरिसकेका छौँ’ नारायणगढकी कृष्णा सापकोटाले भनिन्, ‘भट्टाउने व्यक्ति पनि चुनिसकिएको छ । 
कति क्लबहरुले त सामाजिक कार्यको लागि यस पटक देउसीभैलो खेल्ने कार्यक्रम बनाइसकेका छन् भने कति आमा समूहहरु यस वर्ष देउसी खेलेर उठेको पैसाले गाउँमा मन्दिर, वृद्धाश्रम तथा स्कुल बनाउने सुरसार कस्दै छन् । 
देउसी खेल्ने प्रचलनबारे रोचक पौराणिक किंवदन्ती छ । दैत्यराज बली घमण्डी थिए । उनको घमण्ड चकनाचुर पार्न भगवान् विष्णुले वामन अवतार धारणा गरे । अनि बलिको दरबारमा गएर जे दिए पनि माग्ने बाचा गराए । बाचाअनुुसार मागिएको तीन पाइलाले आकाश ढाकिएपछि तेस्रो पाइला राख्न ‘देउ शिर’ भन्दै शिर मागेका थिए रे । ‘देउ शिर’कै अपभ्रंस भएर ‘देउसि रे’ भएको र यसकै सम्झनामा देउसीभैलो खेल्ने गरिएको बताइन्छ । 
आफू दानवीर भएर पनि सजाय पाएको गुनासो गर्ने बलिलाई ‘तिम्रो नाम पृथ्वीमा सधैँ फैलिइरहनेछ र तिहारको तीन दिन दान गर्ने व्यक्ति तिमीजस्तै अमर रहनेछ’ भन्ने वरदान दिएकाले देउसी खेल्न आउनेलाई दान दिने गरिन्छ । 
तिहारको बेलामा देउसी खेल्ने परम्परा हाम्रो संस्कृति हो । यस संस्कृतिलाई हामीले जोगाउनुपर्ने हाम्रो धर्म पनि हो । आजकल देउसीभैलो तर्फभन्दा पनि युवावर्गको मन अन्ततिर मोडिएको पाइन्छ । जुवा तासमा रमााउने, फेसबुकमा रातभर बस्ने, मदिरामा लठ्ठ पर्ने युवाहरुका कारण हाम्रो देउसी संस्कृति आझेलमा पर्दै गएको छ । 
गीतानगरका शिक्षक पीएम शर्मा बताउँछन् । 

गाउँटोलमा देउसी संस्कृतिमा युवा मन नतानिएको हुँदा उनलाई दुःख लागेको छ । ‘युवा मन आफ्नो संस्कृतितर्फ नलागेर पश्चिम शैलीतर्फ तानिएका छन् । कति युवाहरु देउसीभैलो छोडेर जुवातास र कौडामा मस्त हुन्छन्’ शर्माले भने, ‘तासको म्यारिजमा रमाउने र कौडाको छक्कामा डुल्नेहरुलाई देउसी संस्कृतिको महत्व के थाहा हुन्छ र !’
पहिलेको जस्तो हुँदैन आजकल देउसी कार्यक्रम । पहिलेपहिले गोबद्र्धन पूजादेखि भाइटीकासम्म आफ्नो क्षेत्रका सबै महिला पुरुषहरु जम्मा भई नेपाली पोसाकमा सजिएर, कानमा फूल सिउरिएर, हातमा मादल, डम्फु, बाँसुरी, मुर्चुङ्गाजस्ता लोकबाजाहरु लिएर भाका हाली देउसीभैलो खेल्ने चलन थियो । अहिले यी चलन हराउँदै गएको छ । हिन्दी गीत बजाएर, कम्मर मर्काएर देउसी खेल्ने चलनको विकास हुँदै छ हिजोआज । 
भरतपुर २५ का दीपक खनाललाई तिहार भन्नसाथ देउसी खेलेको थुप्रै प्रसङ्गहरु मानसपटलमा आउँछ । उनी भन्छन्, ‘गाईपूजादेखि भाइटीकासम्म त दिनरात देउसी खेलिन्थ्यो । टीकाको भोलिपल्ट पनि दिनभर देउसी खेलेर रमाइलो गरिन्थ्यो ।’ ती दिन सम्झदा उनलाई आफूलाई त्यो समय फेरि पनि आइदिए हुन्थ्यो जस्तो लाग्छ ।  
‘देउसी कार्यक्रममा म भट्याउने व्यक्ति थिए । भाका हालेर मैले भटउँदा दसगाउँका मानिस सुन्न घेरा लाग्थे । हामी क्यासेट बजाएर नाच्ने देउसी खेल्थेनौँ, आफ्नै गाउँपाखाका पुराना भाका झिकेर लय हालेर देउसी खेल्थ्यौँ’ दीपकले भने, ‘वर्षैपिच्छे तिहारमा खेलेको रकम गाउँकै सूर्योदय क्लबमा जम्मा गरी गाउँको विकासमा खर्च गरिन्थ्यो ।’ 
देउसी खेल्ने पुरानो प्रचलन छ । देउसी खेल्ने घरमा पुगेपछि भट्याउने मान्छे सबैभन्दा अगाडि बसेर भट्याउन सुरु गर्छ । मादलजस्ता वाद्यवादन लिएर साथीहरु एकछेउमा बसेका हन्छन् । नाच्ने साथीहरुलाई खेल्न आएका सबैले घेरा हाल्छन् । अनि जानेको मान्छेले लयबद्ध तरिकाले भट्याउने र बाँकी सबैले लयबद्ध रुपमा पछि ‘देउसी रे’ भनिन्छ । 
भट्याउनले सुरुमा घरधनीहरुलाई देउसी खेल्न आएको जानकारी गराई घरको वर्णन र घरसम्म आइपुगेको कथा भट्टाउँछ । कति संख्यामा आएको हो सोको जानकारी दिइन्छ । देउसी खेल्न आउनुको पौराणिक कारण बलिराजाले पठाएर आएको बताइन्छ । 

भट्याउनेले घरमुलीले सिदा नल्याउन्जेलसम्म कथा भनिरहन्छ । सिदा ल्याउन ढिला भए सयौं घर डुल्ने भन्दै ढिला भएको जानकारी दिइन्छ । धेरै नै ढिला भए ‘छानामाथि घिरौला, चाँडै दिए हिँडौला’सम्म भनिन्छ । 
घरमुलीले नाग्लोमा मखमली फूल राखी, दियो बालेर, धानचामलसहित सेल रोटी, फलफूल, मिठाइ र नयाँ नोटहरुले नाग्लो सजाएर ल्याएपछि भट्याउनेले प्रसङ्ग मोड्छ । अब भट्याउनेले घरधनीका परिवारलाई ‘लक्ष्मीले बास गरुन’, ‘चिरायू होऊन्’, ‘दीर्घायू बनून्’ भन्दै आशिष दिन्छ । 
जानेबेलामा भनिन्छ, ‘थालैमा अछेता पाती, बिदाबारी भएर जाऔं साथी ।’ नाग्लो वा थालमा थोरै अन्न छोडेर दियो नै बालेर भैलीनी टोली बिदा हुन्छ । 
यसरी खेल्ने देउसीभैलो हिजोआज निक्कै कम खेलिन्छ । खेलिहाले पनि सारङ्गी, मादल, खैजडी, डम्फुको ठाउँमा ड्रम र गिटारको प्रयोग गरिन्छ । लयबद्ध मुखले गाउँपाखाका भाकाहरु गाउन छोडेर हिन्दी र इङलिस गीतमा बेसुरमा उफ्रिइन्छ । सिदा दे भनेर धम्काइन्छ । सिदा कम पाउँदा गाली, बढी पाउँदा ताली दिने चलन पनि हाम्रो समाजमा पाइन्छ । सिदा पाएर उठेको रकम विकास निर्माणमा नलगाई पिकनिक, ककटेल पार्टीमा खर्च गरिन्छ । यस्तो गलत संस्कृतिको विकासले हिजोआज मौलिक संस्कृति हराउँदै गएको छ । 

यसरी भट्याऔँ            
ए है भनभन साथी हो– देउसी रे
ए है राम्ररी भन– देउसी रे
ए है स्वर मिलाइ भन– देउसी रे 
ए है रातो माटो– देउसी रे
ए है चिप्लो बाटो– देउसी रे
ए है लड्दै र पढ्दै– देउसी रे 
ए है आएका हामी– देउसी रे
ए है कान्छो चाडमा– देउसी रे
ए है केराको थम्बा– देउसी रे 
ए है दस भाइ जम्मा– देउसी रे
ए है देउसी खेल्दै– देउसी रे
ए है सुव्बाको घरमा– देउसी रे 
ए है आएका हामी– देउसी रे 
ए है झिलिमिली झिलिमिली– देउसी रे
ए है केको झिलिमिली– देउसी रे
ए है बत्तीको झिलिमिली– देउसी रे
ए है हामी त्यसै– देउसी रे
ए है आएका होइनौँ– देउसी रे
ए है बलिराजाले पठाएर आको– देउसी रे
ए है एक घर होइन– देउसी रे
ए है दुई घर होइन– देउसी रे
ए है सयौं घर डुल्ने– देउसी रे
ए है घरबेटी आमाले– देउसी रे
ए है भैलीनीलाई– देउसी रे
ए है हरियो नोट– देउसी रे
ए है दिन लाउनुभयो– देउसी रे 
ए है छानामाथि घिरौला– देउसी रे
ए है केके दिन्छन् हरौँला– देउसी रे
ए है यो घरमा– देउसी रे
ए है लक्ष्मीले– देउसी रे
ए है बासै गरुन्– देउसी रे
ए है यो घरको– देउसी रे
ए है अहिले आउँदा– देउसी रे 
ए है टिनको छानो– देउसी रे
ए है अर्को साल आउँदा– देउसी रे 
ए है सुनको छानो– देउसी रे 
ए है भइजाहोस्– देउसी रे !
 

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस