काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार दिल्लीको भारत मण्डपममा आयोजित स्कुल अफ अल्टिमेट लिडरशिप (SOUL) कन्क्लेभको उद्घाटन गरे। उक्त अवसरमा भुटानका प्रधानमन्त्री शेरिङ तोब्गे पनि उपस्थित थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सोलबाट विभिन्न क्षेत्रमा नेतृत्व गर्ने महान नेता निस्कने आशा व्यक्त गरे । उनले सोलको स्थापनालाई 'विकसित भारत' को यात्रातर्फको एक महत्वपूर्ण कदमको रूपमा वर्णन गरे ।
'राष्ट्र निर्माणका लागि नागरिकहरूको विकास अत्यन्तै महत्वपूर्ण छ । विभिन्न क्षेत्रमा उत्कृष्ट नेताको विकास अत्यन्तै महत्वपूर्ण छ र यो समयको माग हो । त्यसैले, स्कुल अफ अल्टिमेट लिडरशिपको स्थापना विकसित भारतको यात्रातर्फ एक महत्वपूर्ण र ठूलो कदम हो,' सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने ।
प्रधानमन्त्री मोदीले सोलको 'परिसर सिटी' नजिकै चाँडै नै तयार हुने जानकारी दिए । वास्तुकलाको दृष्टिकोणबाट पनि यो संस्थाले नेतृत्व लिन सक्ने मोदीको विश्वास थियो ।
'स्कुल अफ अल्टिमेट लिडरशिपको परिसर सिटी नजिकै चाँडै नै तयार हुनेछ । आज, यहाँ आउँदा अध्यक्षले मलाई यसको पूरा मोडेल देखाउनुभयो । मलाई साँच्चै लाग्छ कि, यो संस्थाले वास्तुकलाको दृष्टिकोणबाट पनि नेतृत्व लिनेछ,' उनले भने ।
प्रधानमन्त्री मोदीले स्वामी विवेकानन्दको प्रसिद्ध भनाइलाई उद्धृत गरेका थिए । उनले भने, 'स्वामी विवेकानन्दजीले भन्नुभएको थियो, मलाई १०० ऊर्जावान युवा दिनुहोस् र म भारतलाई परिवर्तन गर्नेछु । उहाँले भारतलाई गुलामीबाट मुक्त गर्न र परिवर्तन गर्न चाहनुहुन्थ्यो । उहाँसँग १०० नेता भएको भए उहाँले केवल भारतलाई केवल स्वतन्त्रता दिने मात्र होइन, भारतलाई नम्बर एक देश बनाउनुहुन्थ्यो ।'प्रधानमन्त्री मोदीले भारतको हरेक क्षेत्रमा उत्कृष्ट नेतृत्वको आवश्यकतामा रहेकोमा जोड दिएका छन् ।
'आज हरेक भारतीय २१औं शताब्दीको विकसित भारतका लागि दिनरात काम गरिरहेका छन् । यस्तो परिस्थितिमा, १४० करोड जनसंख्या भएको देशमा हामीलाई हरेक क्षेत्रमा, हरेक भर्टिकलमा, जीवनको हरेक पक्षमा उत्कृष्ट नेतृत्वको आवश्यकता छ । स्कुल अफ अल्टिमेट लिडरशिपले २१औं शताब्दीको नेतृत्व स्थापित गर्ने ठूलो सम्भावना छ ।'
आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले गुजरात र महाराष्ट्र विभाजनको समयलाई सम्झना गर्दै महत्वपूर्ण उदाहरण प्रस्तुत गरे ।
'कुनै पनि देश जब प्रगति गर्छ, त्यसमा प्राकृतिक स्रोतको आफ्नो भूमिका हुन्छ । तर त्यसभन्दा बढी, मानव संसाधनले ठूलो भूमिका खेल्छ । मलाई याद छ, जब महाराष्ट्र र गुजरातको विभाजनको आन्दोलन चलिरहेको थियो हामी त्यतिबेला बच्चा थियौं । तर त्यस समयमा गुजरात अलग भएर के गर्ने ? यसको (गुजरात) कुनै प्राकृतिक स्रोत छैन भन्ने कुरा पनि उठेको थियो । त्यहाँ कुनै खानी छैन, कोइला छैन । पानी छैन, मरुभूमि छ र त्यसपछि पाकिस्तान छ । यसले के गर्ने ? अहिले नेतृत्वको शक्ति हेर्नुस्, गुजरातमा केवल नून छ तर आज त्यही गुजरातमा सबै कुरा छ ।'
त्यसपछि सम्बोधन गरेका भुटानका प्रधानमन्त्री शेरिङ तोब्गेले आफ्नो सम्बोधनमा सोललाई प्रधानमन्त्री मोदीको 'ब्रेनचाइल्ड' भनेर सम्बोधन गरे । प्रधानमन्त्री तोब्गेले मोदीलाई आफ्नो 'मेन्टर र दाइ' भनेर पनि सम्बोधन गरेका थिए ।
'प्रधानमन्त्रीज्यू, मेरो दाइ, हरेक पटक म तपाईंलाई भेट्ने अवसर पाउँदा खुशीले भरिपूर्ण हुन्छु । हरेक पटक मैले तपाईंलाई भेटेर तपाईंको उत्कृष्टता देख्दा म एक सार्वजनिक सेवकको रूपमा अझ कडा परिश्रम गर्न प्रेरित हुन्छु ।'
तोब्गेले आफू एक विद्यार्थीको रूपमा आएको र प्रधानमन्त्री मोदीबाट नेतृत्वको बारेमा सिक्न उत्साहित रहेको बताए । हिन्दी भाषामा केही टिप्पणीहरू गर्दै तोब्गेले यसलाई एक 'आदर्श अवसर' भने । उनले प्रधानमन्त्री मोदीलाई विश्वको 'महान नेता' भनेर सम्बोधन गरे ।
सोलको परिसर गान्धीनगरमा बनाइने भएको छ । यही फेब्रुअरी १४ मा गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले गान्धीनगरमा सोलको अत्याधुनिक क्याम्पसको भूमि पूजन गरेका थिए ।अनुमानित डेढ अर्ब भारूको लागतमा अर्को दुई वर्षभित्रमा यसको संरचना बनाइने बताइएको छ ।
फेब्रुअरी २१-२२ सम्म सम्पन्न दुई दिने सोल लिडरशिप कन्क्लेभ महत्त्वपूर्ण रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसमा राजनीति, खेलकुद, कला र मिडिया, आध्यात्मिक संसार, सार्वजनिक नीति, व्यापार र सामाजिक क्षेत्र जस्ता विविध क्षेत्रका नेताहरूले आफ्नो प्रेरणादायक जीवनबारे बताएका थिए र नेतृत्वसँग सम्बन्धित पक्षहरूमा छलफल गरेका थिए । कन्क्लेभले सहकार्य र विचार नेतृत्वको पारिस्थितिकी प्रणालीलाई बढावा दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कार्यक्रमले युवा दर्शकलाई प्रेरित गर्न असफलता र सफलता दुबैबाट सिक्ने सुविधा प्रदान गरेको थियो ।
स्कुल अफ अल्टिमेट लिडरशिप गुजरातमा स्थापना हुने एक महत्त्वपूर्ण नेतृत्वदायी संस्था रहेको र यसले सार्वजनिक हितलाई अगाडि बढाउन नेताहरूलाई सक्षम र सबल बनाउने बताइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोलको उद्देश्य औपचारिक प्रशिक्षणको माध्यमबाट भारतमा राजनीतिक नेतृत्वको परिदृश्यलाई विस्तार गर्नु र योग्यता, प्रतिबद्धता र सार्वजनिक सेवाप्रति समर्पितलाई थप सबलीकृत गर्नु हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ फागुन २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?