काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको उम्मेदवारीबारे अहिले नै चर्चा गर्ने बेला भई नसकेको बताएका छन्। २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनेसमेत जिम्मेवारीमा रहेको थापाको भनाइ छ।
‘म अहिले काँग्रेसको महामन्त्री छु, मेरो जिम्मेवारी भनेको १५ औँ महाधिवेशनसम्म पार्टीका सबै काम गरेर सफलतापूर्वक आउँदो महाधिवेशन गराउने हो,’ पोखरामा बुधबार पत्रकारहरूसँग थापाले भने, ‘त्यो जिम्मेवारीमा म केन्द्रित छु। अहिले नै १५ औँ महाधिवेशन लाग्ने बेला भएको छैन भन्ने ठान्छु। महाधिवेशनको उम्मेदवारीबारे चर्चा गर्ने समय आइसकेको छैन।’
काँग्रेस विधानअनुसार अबको १० महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ। २०७८ मंसिरमा महाधिवेशन भएकोले चार वर्षपछि २०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो। तर काँग्रेसमा सभापतिलाई विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्ने विधानले नै व्यवस्था गरिदिएकोले यसअघि पनि यो अधिकार सभापतिले प्रयोग गर्ने गरेका थिए।
महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन्। काँग्रेसले चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायलाई परिपत्रसमेत गरिसकेको छ।फरक प्रसंगमा महामन्त्री थापाले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका छन्।
‘म नेपाली काँग्रेसमा कुनै गुट होइन, सिङ्गो काँग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ,’ महामन्त्री थापाले भने।महामन्त्री थापा काँग्रेसको १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला प्यानल र १४ औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार भएका थिए।
अर्को प्रसंगमा महामन्त्री थापाले सरकारमा पार्टीबाट गएका मन्त्रीहरूले अबको छ महिनाभित्र प्रभावकारी काम गरेर देखाउनुपर्ने बताए। तत्काल कुनै मन्त्री फेर्नेबारे छलफल नभएको महामन्त्री थापाको भनाइ छ।
‘सरकार बदलिन्न तर जसरी काम भइरहेको छ त्यसरी काम गरेर हुँदैन, गति बढाउनुपर्छ,’ महामन्त्री थापाले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी