क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०७५, १८ : १३
क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर

चितवन । भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर भएका छन् । मंगलबार विशेष अदालतले यस्तो ठहर गरेको हो । अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय  ७६ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । अदालतले सो बराबर श्रेष्ठको सम्पत्ति जफत हुने फैसलासमेत गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर गरेको थियो । अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा दावी गरिएको छ । अख्तियारले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती शिलु श्रेष्ठको नाममा समेत राखेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । तर विशेष अदालतले श्रीमतीलाई भने सफाइ दिएको छ ।
डा श्रेष्ठ क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरी १८ वर्ष सोही स्थानमा बिताएका थिए । क्यान्सर विशेषज्ञ श्रेष्ठ २०६४ भदौ देखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएका थिए ।
२०६३ देखि २०६५ सालसम्म उनले १५ लाख २७ हजार रूपैयाँ आर्जन गरेकोमा कार्यकारी निर्देशक हुँदा ३ वर्षको अवधिमै ५० लाख अवैध ढंगले कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

श्रेष्ठको नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो । उनले घर निर्माणमा कुल ४४ लाख ५४ हजार र जग्गामा ६५ लाख ८५ हजार खर्चेको भेटिएको अख्तियारको आरोप पत्रमा दावी थियो । २०६९ भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि श्रेष्ठले ९४ लाख ३१ हजार गैरकानुनी आर्जन गरेको अख्तियार आरोपपत्रमा उल्लेख थियो ।

क्यान्सर अस्पतालमै फुड एन्ड न्युट्रिसन अफिसरका रूपमा श्रेष्ठकी पत्नी शिलु कार्यरत रहेकी थिइन्। । श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरु एनपीआई सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि र नेपाल पोलिटेक्निकल इस्टिच्युटमा सेयर रहेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।
 

प्रतिक्रिया दिनुहोस