विदेशमा लुकाएको सम्पत्ति ल्याउन सरकारले सहयोग नगरेको प्रमुख आयुक्त राईको गुनासो

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०८२, १६ : २५
विदेशमा लुकाएको सम्पत्ति ल्याउन सरकारले सहयोग नगरेको प्रमुख आयुक्त राईको गुनासो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।राष्ट्रिय सभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले सो गुनासो गरेका हुन् ।

भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नै नचाहेको उनको भनाइ थियो । ‘अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउन सक्ने अवस्था छैन । यसमा तपाईँहरूले सहयोग गर्नुपर्‍यो,’ उनले भने, ‘सिंगापुरले त भ्रष्टाचार भएको मनि (पैसा) पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाए पनि काम भइरहेको छैन ।’

फरक प्रसंगमा उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको जिकिर गरे । आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनी दबाब नआएको उनको भनाइ थियो । भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी उनले गरे ।

‘कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानू र नलैजानू भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भनिरहेकै अवस्था हो । ठूला माछाहरूलाई लगेन भन्ने कुरा ५र१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के ? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौँ जस्तो लाग्छ,’ राईले भने, ‘सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौ । उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो । बलिको बोको त कर्मचारी मात्रै भयो नि । उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुपर्‍यो नि । तर उहाँहरू कोही नामसम्म लिन चाहनुहुन्न ।’

 

प्रतिक्रिया दिनुहोस