सरकारलाई रास्वपा सांसद श्रेष्ठका ५ सुझाव

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०८२, १६ : ४७
सरकारलाई रास्वपा सांसद श्रेष्ठका ५ सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारलाई पाँचबुँदे सुझाव दिएका छन् ।आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबार भएको छलफलमा सांसद श्रेष्ठले सरकार गम्भीर नदेखिएको भन्दै पाँचबुँदे सुझाव पेश गरे ।

सरकारले दीर्घकालीन सोच नराखेको, नीति तथा कार्यक्रम यथास्थितिमा आएको, अघिल्ला सरकारको प्रतिलिपीजस्तो मात्र देखिएको भन्दै उनले अर्थतन्त्रलाई गति दिन नीति तथा कार्यक्रममा आमूल परिवर्तन आवश्यक रहेको बताए ।

उनले बुँदागत रूपमा सरकारलाई दिएका सुझाव यस्ता छन्।

१. समयसापेक्ष नीति निर्माण : वर्तमान अवस्था, प्रविधि र भविष्यका सम्भावनालाई ध्यानमा राखी नवीन वैज्ञानिक र समसामयिक अपनत्व हुने गरी आर्थिक नीति बन्नुपर्छ ।

२. आर्थिक पुनस्र्थापनाका लागि स्पष्ट खाका: उत्पादनमुखी लगानी, स्थानीय उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित योजनाहरू ल्याउनुपर्छ ।

३. युवा र प्रविधिलाई प्राथमिकता: नीति निर्माणमा युवा पुस्ताको आवाज समेट्ने, डिजिटल ट्रान्सफर्मेशन, स्टार्टअप संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ ।

४. पूर्वाधारमा दीर्घकालीन सोच: अल्पकालीनभन्दा दीर्घकालीन पूर्वाधार योजना र सार्वजनिक निजी साझेदारी मोडललाई प्रवर्द्धन गर्न सक्नुपर्छ ।

५. सुदृढ कार्यान्वयन संयन्त्र: नीति र बजेटबीच समन्वय कायम गर्दै पारदर्शिता र जवाफदेहिता र परिणाममुखी कार्यान्वयन सुनिश्चितता गर्न संस्थागत आधार आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस