काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न एमालेसँग सहकार्य गरिएको बताएका छन् । उनले राज्यलाई अस्थिर बनाएर काँग्रेसले टुलुटुलु हेर्न नसक्ने भएकोले यो गठबन्धन चाहिएको बताएका हुन् ।
नेपाली काँग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै सिंहले देशलाई स्थायित्व दिने, अप्ठ्यारो पर्दा निकास दिने र शान्ति प्रक्रियालाई निष्कर्षमा लैजाने जिम्मा पनि काँग्रेसको भएको बताए । ‘जब-जब राष्ट्रलाई संकट पर्छ, त्यतिबेला काँग्रेसले अगुवाइ गर्नु पर्छ,’ सिंहले भने, ‘राज्यलाई अगुवाइ गर्ने काँग्रेस अब आफैंभित्र पनि चुस्त र सक्रिय बन्नुपर्छ ।’ दल भित्रका गुट-उपगुट अन्त्य गर्ने र एक्लै निर्वाचनमा जाने पार्टी बनाउन पनि गुट अन्त्य चाहिएको बताए ।
लोकतन्त्रमा विधि र पद्धतिलाई प्रमुख मान्नुपर्ने उनले कार्यकर्तालाई सुझाए । ‘विधि र पद्धतिमा काँग्रेस चल्न सक्यो भने मात्र राज्य र अन्य दललाई पनि विधिको शासनबारे भन्न सकिन्छ,’ उनले भने, ‘सरकारमा पनि हामी विधि र पद्धति बसाल्ने अभियानमा छौँ ।’
समाज सुधार गर्न पनि पार्टी भित्रको लोकतन्त्र बलियो बन्नुपर्ने उनले बताए । देशभर सञ्चालित योजनाहरूलाई व्यवस्थित रूपमा पूरा गर्ने र समयमा राज्यको सम्पत्तिको सदुपयोग गर्ने काममा समेत सरकारले चासो राखेको उनको धारणा थियो । ‘बजेट बनिसकेपछि यो सरकार बनेको हो, तर भएको नीति र बजेटलाई समन्वय गर्दैछौं’ उनले भने, ‘आफ्नै नीति र कार्यक्रम सहितको बजेट ल्याउँदा राज्यलाई सही निकास दिने लक्ष्य छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा अस्थिरता बढेकैले कांग्रेस-एमालेले ७ बुँदे सहमति गरेका हुन् : उपप्रधानमन्त्री सिंह
बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
चुरे संरक्षणका लागि दोहन रोकौँ’: उपप्रधानमन्त्री सिंह
देशमा केही भएको छैन भन्ने गलत भाष्य भ्रम फैलाउने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण: उपप्रधानमन्त्री सिंह