मोबाइलका गेमहरुले निलेको चंगा चेट

विहीबार, ०१ कार्तिक २०७५, ०८ : २६
मोबाइलका गेमहरुले निलेको चंगा चेट

चितवन । कुनै समय चंगा भनेपछि केटाकेटीको मन फुरुङ हुन्थ्यो, तर अहिले केटाकेटीको मन युट्यूब, मोबाइल एप्स र मोबाइलमा राखिने अनेकथरि गेमले तानेको छ । पहिलेपहिले हावामा माथिमाथि चंगा उड्दा दसैँ आयो भन्ने थाहा हुन्थ्यो ! तर अहिले दसैँ लाग्दा समेत चंगा आकाशमा कम देखिदैन । दसैँमा चंगा चेटको रमाइलो बेग्लै हुन्थ्यो । दसैँमा एकपटक चंगा त उडाउनै पर्छ भन्ने मान्यता पनि थियो । तर अहिले दसैँमा चंगा उडाउनुपर्छ भन्ने प्रचलन विस्तारै मोबाइलका गेमहरुले खाइदिएको छ । 
‘उसबेलाको समयमा विशेष गरी चंगा चेट गर्न बालबालिका मरिहत्ते गर्थे । तेरो चंगा माथि गयो कि, मेरो माथि गयो उनीहरुबीच कस्साकस्सी नै हुन्थ्यो । मन चङ्गा बनाउँदै बालबालिकाहरु हावामा चङ्गा उडाउँथे । चंगा उडाउने प्रतियोगिता नै चल्थ्यो’ भरतपुर २५ का काशी न्यौपानेले भने, ‘तर पछिल्लो समय दसैँमा चंगा चेट यदाकदा मात्र देखिन्छ ।’
केही बालबालिकामा अझै पनि थरिथरिका चंगा बनाएर हावा उडाउने रहर भइरहेको छ । ‘दसैँ बिदा हुनसाथ चंगा उडाउन सुरु गर्ने हो’ कक्षा–११ का विद्यार्थी रोचक खनालले भने, ‘यसपटक सबैभन्दा माथि जाने चंगा बनाएर उडाउने हो तर चंगा उडाउनुअघि खुला ठाउँको खोजी गर्नुपर्छ ।’ उनको भनाइअनुसार कुनै माथि उठेको ढिस्को, अथवा अग्लो ठाउँबाट चंगा उडाउन राम्रो हुन्छ ।
चंगा कागज र चोयाले बनाइन्छ । रेसम र पातला कागजले बनेको चंगा उडानको लागि राम्रो मानिन्छ । चंगा प्लास्टिकबाट पनि बनाइन्छ । त्रिभुज, चतुर्भुज, वर्गाकार, चौडाकार, गोलाकार सबैमा उपलव्ध हुन्छ चंगा । चंगालाई उडाउन धागो र लठ्ठाई चाहिन्छ । चंगा बनाउन पनि कला चाहिन्छ । बनाउन नजानेमा यो हावामा नउड्न सक्छ । 
मन खुसी भयो भने हामी ‘म त चंगा भएको छु भन्छौं’ । चंगाको अर्थ खुसी हुनु पनि जनाउँछ । दसैंमा पहिलेको तुलनामा चंगा अहिले कम उडेका छन् । भरतपुर–१० का विशाल श्रेष्ठले भने, ‘पहिलेपहिले केटोकेटीमा खुब उडाइन्थ्यो, दसैंमा चंगा । अहिले त कतैकतै मात्र देख्छु म चंगा । अहिले युवा आफ्नो संस्कति बचाउन खोज्दैनन् खाली खानैमा रमाइलो मान्छन् । मोबाइलमा रमाइलो मान्छन् ।’ चंगा उडाउने पुरानो परम्परा लोप हुँदै गएको छ । दसैंमा चंगा उडाउनभन्दा रमाइलो गरेर बस्ने युवापुस्ता बढ्दै छ । श्रेष्ठ भन्छन्,  ‘मलाई त आफ्नो संस्कृति मेटेर युवाहरु विकृतितर्फ ढल्केको हुन् कि जस्तो लागेको छ ।’
चंगाको आविस्कार तीन हजार वर्ष पहिले चीनमा भएको मानिन्छ । चिनियाँहरु चंगा उडाउने र आविस्कार गर्नेमा अग्रपंक्तिमा आउँछन् । विभिन्न पुस्तकले जनाएअनुसार चीनमा दार्शनिक मोजी र लु बानले चंगाको आविस्कार गरेका हुन् । कागजको आविस्कार हुनुभन्दा पहिले रुखका ठूला पातबाट बनाइन्थ्यो चंगा । 
आजकल चंगा उडाउनु सोख र रमाइलोको कुरा हो । आकाशमै चंगा जुधाएर भए पनि बाल्यपुस्ता खुब रमाउँछन् । दसैँसँग चंगाको साहिनो जोडिएको छ । दसैँमा नउडेको चंगा अघिपछि कहाँ उड्छ र ! त्यसैले टोलटोलमा बाल्यपुस्ता दसैँमा चंगा उडाउने काम गरेर संस्कृतिलाई जोगाइ राख्नुपर्ने श्रेष्ठले सुझाव दिन्छन् ।
 
विश्वका केही भागमा चंगा महोत्सव हुने गरेको छ । थाइल्यान्डमा व्यावसायिक चंगा प्रतियोगिता नै गरिन्छ । भारतमा पनि चंगा उडाउने प्रतियोगिता नै भएको पाइन्छ । नेपालको काठमाडौंमा पनि चंगा चेट प्रतियोगिता हुन्छ । यसपटक पनि ठाउँठाउँमा चंगा उडाउने प्रतियोगिता भएको थियो । 
चंगामा विश्वास पनि अडिएको मान्यता छ । पुरानो भनाइअनुसार चंगालाई स्याहारसुसार, उव्जनी, स्वास्थ्य, मौसम र शुभलाभको प्रतीकको रुपमा लिइन्छ । केहीले चंगालाई स्वर्ग र धर्तीबीच सुखद सन्देश लिनेदिने विश्वासमा समेत उडाउँछन् । 
धार्मिक पुस्तकमा त गौतम बुद्ध जन्मनुअघि नै चंगाको विकास भएको भनेर लेखिएको पनि छ । चंगा उडेको हेर्दा आँखा तेजिलो हुने जनविश्वास पनि रहेको छ । 
जेहोस् चंगा मनोरञ्जनको पर्याय बनेको छ । चंगा उडाउँदा भने बडो सतर्क हुनपर्छ । चंगा बिजुलीको तारमा अड्केर लाइन गडबडी बनाउन सक्छ । अझ डोरी चिसो रहेको बेलामा चंगाले बिजुलीको तार छोएमा करेन्ट लाएर ज्यानै पनि जान सक्छ । 
एक आंकडाअनुसार त विश्वमा एक वर्षमा १२ जनाको मृत्यु चंगा उडाउँदा दुर्घटना परेर हुन्छ । घरको छतमाथि गएर चंगा उडाउँदा खसेर घाइते भएका धेरै उदाहरण त हामी हाम्रै घरआँगनमा पाउँछौँ । 
सबैभन्दा धेरै चंगा उडाउने व्यक्ति जापानका सदाओ हरादा हुन् । उनले एकैपटक ११ हजार २४८ वटा चंगा एउटै डोरीबाट उडाएका थिए । 
‘अन्य खेलकुद खेल्दा धेरै खर्च हुन्छ, चंगा उडाउँदा कम खर्च पनि हुने रमाइलो पनि हुने संस्कृति पनि जोगिने त्यसैले मत चंगा उडाउँछु’ गैंडाकोटका रमेश अधिकारीले भने, ‘म त दसैंमा लङ्गुरे बुर्जा खेल्दिनँ ।’
कुनै समय जापानमा यस्तो आयो, मानिसहरुले कामै छोडेर चंगा उडाउन थाले । चंगा उडाउने क्रम कमभन्दा पनि झन् बढ्दै गयो । त्यसपछि त्यहाँको सरकारले चंगा उडानमा प्रतिबन्ध नै लगाउन परेको थियो । 
दसैँ रमाइलो चाड हो । यो चाडमा चंगाको महत्व पनि रहेको छ । चंडा उडाएर दसैँको परम्परालाई जोगाउन सकियो भने पनि हाम्रो संस्कृति मेटिँदै जानेक्रम रोकिन्थ्यो । सुरक्षित तवरले चंगा उडाउन राम्रो मानिन्छ । दसैैँको समयमा मादकपदार्थ सेवनमा, अन्य जुवातासमा रमाउनुको सट्टा चंगा उडाएर रमाउनु ज्यादै राम्रो हो । अन्य जुवातास कानुनविपरीत छन् । 
‘हाम्रो परम्परा अरुले आएर जोगाइदिने होइन, हामी आफैँले जोगाउनुपर्छ, परापूर्वकालदेखि चंगा उडाउने परम्परा रहेको हुनाले यसलाई बिर्सनुहुँदैन’ नारायणगढका रञ्जन ढकालले थपे ।  


 

प्रतिक्रिया दिनुहोस