काठमाडौ । २०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको छ। त्यहाँ पनि बाढी र डुबानले चैनसँग बस्न दिएको छैन। त्यसैले एमाले नेतृत्व पार्टी मुख्यालयको स्थायी ठेगानाको खोजीमा लागेको छ।
यस क्रममा एमालेले काठमाडौँको तीनथानानजिकै १० देखि १२ रोपनीमा केन्द्रीय कार्यालय बनाउने बारेमा छलफल थालेको छ। कीर्तिपुर नगरपालिका वडा नं १ मा पर्ने यस क्षेत्रमा जग्गाको करिब टुंगो लागिसकेको एमाले स्रोतले जनाएको छ। यो ठाउँ सिभिल होम्सको कोलोनीनजिकै पर्छ।
बिहीबार एमाले सचिवालय बैठकमा केन्द्रीय कार्यालय भवन निर्माण योजनाबारे ‘ब्रिफिङ’ हुँदै छ। एमालेको नयाँ कार्यालय भवन शुक्रबार नै शिलान्यास गर्ने गरी छलफल हुनेछ।
त्यसो त एमालेसँग बल्खुमा पनि करिब ९ रोपनी जग्गा छ। तर, सर्वोच्च अदालतको पछिल्लो फैसलाले नदी किनारामा खाली छाड्नुपर्ने जग्गाको मापदण्ड दोब्बर पार्न भनेकाले एमालेको जग्गा अझै घट्नेछ। ४० मिटर छाड्नुपर्ने मापदण्ड लागू भएमा डेढ रोपनी पनि बाँकी नहुने हिसाब निस्किएको छ। यसअघि ९ रोपनी रहेको क्षेत्रमा ४ रोपनी थपेर १३ रोपनी पुर्याउने गृहकार्य पनि एमालेले गरेको थियो।
अहिले मदन नगर बल्खुमा काठमाडौँ क्षेत्र नं. ९ को क्षेत्रीय कार्यालय, १४ वडा कार्यालय, बागमती प्रदेश अखिल नेपाल महिला संघको कार्यालय र पार्टीकै नवदुर्गा अफसेट प्रेस रहेको छ। प्रेस भने बन्द अवस्था छ।
२०७२ वैशाख १२ को भूकम्पले भत्किएपछि एमाले केन्द्रीय कार्यालय बल्खुबाट २०७२ साउन २३ गते धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सारिएको थियो। प्रतिष्ठानसँगको सम्झौता सकिएपछि २०७८ वैशाखबाट करिब एक वर्ष थापाथली हाइटमा एमाले कार्यालय सञ्चालन गरिएको थियो।
त्यसपछि नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा २०७८ वैशाख देखि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असोज २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह