‘अक्टोबर क्रान्ति’को सय वर्ष, नेपालमा बाम गठबन्धनको संयोग !

सोमबार, २० कार्तिक २०७४, २२ : १२
‘अक्टोबर क्रान्ति’को सय वर्ष, नेपालमा बाम गठबन्धनको संयोग !

काठमाडौँ । विश्वमा पहिलो पटक समाजवादी क्रान्ति भएको शत्वार्षिकी मनाइएकै बेला नेपालका प्रमुख वाम शक्तिको चुनावी तालमेल र एकता पहललाई सकारात्मक संयोग मानिएको छ ।

सर्वहारा वर्गको नेतृत्वमा सन् १९१७ नोभेम्बर ७ मा रुसमा उक्त क्रान्ति भएको स्मरणमा नेपालमा विभिन्न कार्यक्रम भइरहँदा नेपालका कम्युनिष्टको सहकार्यले समाज सुधारको बाटामा उत्साह थपेको पाइएको छ । भ्लादिमिर लेनिनले अगुवाइ गरेको उक्त ‘महान् अक्टोबर समाजवादी क्रान्ति’ को सय वर्ष पूरा भएका अवसरमा नेपालका वैचारिक गतिविधि गर्न सोनाम साथीको संयोजकत्वमा अक्टोबर क्रान्ति शत्वार्षिकी समिति नेपाल गठन गरिएको छ ।

समितिको आयोजनामा मंगलबार काठमाडौँको भृकुटीमण्डपबाट शान्तिवाटिकासम्म पदयात्रा गरिनेछ । जर्मनीका दार्शनिक कार्ल माक्र्सले पहिलो पटक ‘कम्युनिष्ट घोषणापत्र’ बनाएको तथा उनले समाजको वैज्ञानिक वर्ग विश्लेषणसहित प्रकाशन गरेको ‘दास क्यापिटल’(पूँजी) पुस्तकको पनि यस अवसरमा स्मरण गरिन्छ । हाल चीनलगायत विश्वका धेरै मुलुकमा आआफ्नै प्रकारको समाजवादी व्यवस्था कायम छन् ।

अक्टोबर क्रान्ति शत्वार्षिकी समितिका संयोजक साथीले शोषण, शासन, उत्पीडन अन्याय, अत्याचार र असामानताको अन्त्य नभएको सन्दर्भमा नेपालमा पनि क्रान्तिको दिशामा अग्रसर हुन कम्युनिष्ट पार्टीहरुले पहल गर्नुपर्ने बताए । उनले भने, ‘जुन इनारको पानी खाने हो, त्यसलाई बिर्सने गर्नु हुँदैन । सबै कम्युनिष्ट पार्टी र नेताहरुले अक्टोबर क्रान्तिलाई सम्झनुपर्छ ।’  ‘जीविका चलाउन चाहिने स्रोत साधन तथा नीतिनिर्माणमा सबै नेपालीले यो हाम्रो हो भन्ने र त्यसबारे आफूले निर्णय लिन सक्ने व्यवस्था आइसकेको छैन । समाजलाई बदलेर त्यहाँ पुर्याउनुपर्ने आवश्यकता छ’, उनले भने ।

शत्वार्षिकीकै सन्दर्भमा नेपाल वैकल्पिक अनुसन्धान समाजले काठमाडौँमा यही कात्तिक २२–२४ गते नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीको अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दैछ । समाजका अध्यक्ष डा महेश मास्केले नेपालका कम्युनिष्टको एकता प्रक्रिया हुनु र सम्मेलन हुनु सुखद संयोग भएको बताए ।

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना भएका समयलाई मानव जातिको इतिहासमा महत्वपूर्ण घटनाका रुपमा सम्झनु आवश्यक छ भने, ‘यही क्रान्तिको प्रभावले अहिलेसम्म विश्वमा मुक्तिकामीले आफ्नो मुक्तिको बाटो तय गरे । नेपालमा यो शताब्दीमा भएका सम्पूर्णजसो आन्दोलन र क्रान्तिमा अक्टोबर क्रान्तिको प्रभाव परेको छ ।’

प्राज्ञ पोखरेल भन्छन्, ‘भर्खरै हामी सामन्ती सत्ताको केन्द्रीय किल्ला (राजतन्त्र) भत्काएर नयाँ युगमा प्रवेश गरेका छौँ । यसको मूल प्रभाव नै अक्टोबर क्रान्ति हो । त्यसकारण नेपालका परिवर्तनकारी नागरिकका लागि यो झन् महत्वको विषय बनेको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस