म्याग्दी । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो ।
सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो ।
“बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो ।
आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले बेनी नगरपालिका–८ स्थित कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पक्की पर्खाल निर्माण गरेको छ ।
आर्थिक वर्ष २०७८-७९ सम्झौता भएको सो ठेक्कामार्फत यसअघि कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो । बेनी नगरपालिका–७ मङ्गलाघाटको म्याग्दी नदीको किनारमा दुईवटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएका हुन् । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ११० मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल रु दुई करोड ६८ लाखमा बनेको हो ।
पर्वतको जलजला गाउँपालिका–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा १३८ मिटर लामो सोही प्रविधिको पर्खाल निर्माण भएको छ । यो योजना निर्माणका लागि रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । जलजला गाउँपालिकाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो कम्पोजिट पर्खाल निर्माण भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध
पाकिस्तानको पन्जाबमा १४ लाख मानिस बाढीको जोखिममा
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
यी जिल्लामा आज बाढी र पहिरोको जोखिम
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल