कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी १४ वर्षपछि पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १५ : ३३
कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी १४ वर्षपछि पक्राउ

बुटवल। कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादीलाई कपिलवस्तु प्रहरीले करिब डेढ दशकपछि पक्राउ गरेको छ ।जिल्ला कारागार तौलिहवा कपिलवस्तुबाट विक्रम संवत् २०६६ माघ २ गते सुरुङ खनेर भागेका भारतीय नागरिक मोहम्मद स्कुललाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।

स्कुल मिया अन्सारी भनेर चिनिने मोहम्मद भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया निवासी रहेको बताइएको छ ।कारागारबाट सुरुङ खनेर भागेका ८ जना कैदी मध्येका उनी पक्राउ परेका हुन् ।

६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुल उपर गर्नुपर्ने उनलाई जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए ।

 

 

 

 

 

 

 

उनीसहितका ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए ।कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुल सहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवण कुमार मुराउ थिए ।

त्यस्तै लागुऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए । ​

सुरुङ खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि पक्राउ गरिसकेको थियो । मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ खनेर भागेका ८ जना फरार प्रतिवादी सबै पक्राउ परेका छन् ।

कपिलवस्तु प्रहरीले चालू आर्थिक वर्षको हालसम्म १२६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जसबाट १४७ वर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना असुल हुनेछ ।

अपराध गर्ने व्यक्ति अनुसन्धान पूरा नहुँदै फरार भएको भए अनुसन्धान पूरा गरी कारबाही अगाडि बढाउन र अदालतले सजाय तोकेका व्यक्ति फरार रहेको भए उनीहरुलाई कानुनको दायरामा ल्याउनका लागि कपिलवस्तु प्रहरीले फरार अपराधी पक्राउलाई प्राथमिकतामा राखेको हो ।

प्रतिक्रिया दिनुहोस