संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ : मन्त्री जोशी

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १६ : ३२
संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ : मन्त्री जोशी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री जोशीले वर्षे अधिवेशनमा निजामती विधेयक  पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए ।

मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सरोकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा विधेयकलाई टुंगो लगाउन आफूहरू लागि परेको बताए ।

मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे । उनले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस