चिकित्सा विज्ञानलाई चुनौती दिँदै रेविज

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०७५, ०७ : २३
चिकित्सा विज्ञानलाई चुनौती दिँदै रेविज

- ज्योति अधिकारी
काठमाडौँ । आज एघारौँ विश्व रेविजविरुद्धको दिवस मनाइरहँदा चिकित्सा विज्ञानको क्षेत्रले व्यापक रुपमा फड्को मारे पनि रेविज रोगको उपचार पूर्ण रुपमा सम्भव बनाउन सकेको छैन । स्वास्थ्य सेवा विभागको तथ्यांक हेर्ने हो भने विश्वमा हरेक बर्ष उनान्साठी हजार मानिसको मृत्यु रेविजको कारणले हुने गरेकोे छ । रेविज, जनावरहरुबाट मानिसमा सर्ने विषाणुबाट हुने एउटा रोग हो । दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको छ । यसको अलावा अन्य जनावरहरु  विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरुको टोकाईवाट पनि रोग सर्ने गरेको स्वास्थ्य विभागको रिर्पोटमा रहेको छ । 

नेपालको सन्दर्भमा हेर्ने हो भने आर्थिक बर्ष ०७४/७५ मा ३२ जनाको मृत्यु भएको थियो भने २८५१४ जना रेविजबाट संक्रमीत भएका थिए । त्यसमध्ये २६ हजार ३ सय १२ जना कुकुरको टोकाईबाट संक्रमीत भएको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालको आधा जनसंख्या रेविजको उच्च जोखिममा रहेका छन् भने एक चौथाई जनसंख्या मध्यम र बाँकी कम जोखीममा रहेका छन् । नेपालको विषेश गरि तराई क्षेत्रका मानिसहरु उच्च जोखिममा रहेको स्वास्थ्य सेवा विभाग ईपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका उपस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकारीको भनाई छ ।

रेविज रोग लाईसा नामक स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाईरसले गर्दा हुने गर्दछ । यो भाइरस संक्रमीत जनावरको ¥यालको माध्यमवाट सर्दछ । रेविजलाई निर्मुल पार्नको लागी विभीन्न कार्यक्रम गरिएता पनि विभीन्न अभियान चलाईएता पनि पुर्णरुपमा सफल हुन नसकेको उपस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकारी बताउनुहुन्छ । विश्वमा देखिएको रेविजको ९५ प्रतिशत विरामी एशिया र अफ्रीकामा रहेका छन् जसको मुख्य कारण गरिबि र ग्रामीण क्षेत्रका जनतामा देखिएको छ । सरकारले यस रोग नियन्त्रणको लागी रकम लगानी गरिरहेको छ परिणमस्वरुप नेपालमा रेविजको कारणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । तर जंगली जनावरहरु मानव बस्तीमा अनियन्त्रीत भई पस्नाले र घरपालुवा जनावरहरु छाडा छोड्नाले कुनै समयमा रेविजले माहामारीको रुप लिने गर्दा रोग नियन्त्रण गर्न कठिन हुने गरेको अधिकारी बताउनुहन्छ । रेविजविरुद्दको खोप प्रभावकारी भएपनि रोग लागीसकेपछि  लगाईएको खोप त्यती प्रभावकारी नहुने भएकोले रेविज उन्मुलन गर्नु चुनौति देखिएको डा अधिकारीको भनाई छ ।

यो भाइरस भएका जनाावरले मानिसलाई टोकेमा २ महिना देखि एक बर्षसम्म पनि रोगको लक्षण देखिन्छन् । यसको भाईरस शरिरमा प्रबेश गरिसकेपछि ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउने जस्ता लक्षण देखिन्छन् त्यसैले रेविजरोग लाग्न नदिन  सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । यदि मानिसलाई जनावरले टोकेमा तत्काल घाउलाई १० देखि १५ मिनेटसम्म सावुन पानीले पखाल्ने र थप उपचारको लागि अस्पताल लैजान डाक्टरहरुको आग्रह रहेको छ । त्यस्तै घाउमा वोट विरुवाको पात वा मुन्टाको रस, अम्ल वा क्षार प्रयोग गर्न नहुने पनि डाक्टरहरुको सुझाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस