संसदीय छानबिन समितिको कार्यादेश भोलि टुंगो लाग्ने

सफल खबर संवाददाता

शनिबार, ०५ जेठ २०८१, २१ : ०६
संसदीय छानबिन समितिको कार्यादेश भोलि टुंगो लाग्ने

काठमाडौ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । तर, समितिको कार्यादेश (टीओआर) के हुने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समितिको कार्यादेशआइतबार बिहान छलफलपछि टुङ्गो लगाइने जानकारी दिए । 

“सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ”, शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि उनले भने। 

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुनमन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरु बसेर त्यसलाई मूर्तरुप दिइने पनि उनले बताए ।  छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र भोलिको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास लिइएको उनको भनाइ छ ।

 छानबिन समिति गठन गर्ने विषयमा आज चरणवद्धरुपमा छलफल भएको थियो ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस