जलवायु परिवर्तनको प्रभाव रोक्न ‘ग्रिन हाइड्रोजन’ मा लगानी बढाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १३ : ०१
जलवायु परिवर्तनको प्रभाव रोक्न ‘ग्रिन हाइड्रोजन’ मा लगानी बढाउनुपर्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीको अग्रस्थानमा नेपाल पर्ने बताएका छन् । आज आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनबाट थप प्रभावित बन्नबाट बच्नका लागि समेत हरित ऊर्जातर्फ लगानी गर्नुपर्ने बताएका हुन् ।

मन्त्री बस्नेतले नेपालमा ‘ग्रिन हाइड्रोजन’ को उल्लेख्य सम्भावना रहेको समेत बताए । पर्याप्त सम्भावना भएर पनि ग्रिन हाइड्रोजनबारे छलफल गर्न ढिला भइसकेको समेत मन्त्री बस्नेतको भनाई छ । ‘ग्रिन हाइड्रोजन’बाट नेपालले उठाउन सक्ने लाभ उठाउने गरी अघि बढ्नुपर्छ,’ मन्त्री बस्नेतले भने ।

यतिबेला जलवायु परिवर्तनले पारेका नकारात्मक प्रभावका विषयमा विश्वव्यापी छलफल भइरहेको छ । यो स्थितिसँग जुध्नका लागि नीतिगत संरचनागत र कानुनी व्यवस्थामा समेत हरित ऊर्जातर्फ ध्यान केन्द्रित गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । ‘समग्र अर्थतन्त्रलाई केलाउँदा भावी दिनमा ‘ग्रिन हाइड्रोजन’ मुख्य आधार बन्ने देखिन्छ,’ उनले भने ।

विगतका दिनहरूमा विकास निर्माणका काम अघि बढाउँदा आर्थिक पक्ष मात्रै हेरिन्थ्यो । बिस्तारै आर्थिकसँगै सामाजिक पक्षलाई समेत केलाउने प्रचलन सुरु भयो । यतिबेला भने जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा देखापर्दा वातावरणीय पक्षलाई समेत ध्यान दिनेगरी विश्व अघि बढेको छ ।