लागु औषधसहित १० जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १३ : ३२
लागु औषधसहित १० जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानमा अवैध लागु औषधसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागु औषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका-१३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी झापाको कमल गाउँपालिका-५ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागु औषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यता सुनसरीको इटहरी उपमहानगरपालिका-१२ शान्ति चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ विराटनगर महानगरपालिका-१७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।  

यस्तै पर्साको वीरगंज महानगरपालिका-१६  रजतजयन्ती चोकबाट अवैध लागु औषधसहित २ जनालाई  आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागु औषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागु औषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो । 

उता कैलालीको भजनी नगरपालिका-३ जस बहादुर घाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस