पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १३ : ०८
पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) नियुक्त भएका छन् । यसअघिका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै गत माघ २२ गते बाहिरिएसँगै बोर्डको उपाध्यक्ष पद खाली हुन पुगेको थियो ।

सोही पदमा नवनियुक्त बोर्ड सदस्य सापकोटालाई नियुक्ति दिइएको हो । त्यसो त रिजालसँगै अन्य दुई जना बोर्ड सदस्यहरू समेत कार्यकाल पुरा गरेसँगै बाहिरिएका थिए । सदस्य कृष्ण शाह र नवाङ मिया शेर्पा समेत बोर्डबाट बाहिरिएसँगै गत चैत १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायी ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा (कमल) लाई नियुक्त गरेको थियो । सोही तीन जना नवनियुक्त सदस्यमध्येबाट सापकोटाले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त उपाध्यक्ष सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङका हुन् भने उनी लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् ।  फ्रान्सको वर्ल्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पाएका सापकोटा ‘साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, ‘सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११’ तथा ‘अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३’ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस