चितवनमा कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या

रासस

शुक्रबार, ३० चैत्र २०८०, १२ : १४
चितवनमा कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या

चितवन ।  कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ ।

कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् । कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए। 

उनका अनुसार विगत १५ दिनदेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको हो । उनले भने, ‘अहिले कैदीबन्दीको चाप बढेसँगै १० जनालाई त्रिपालमुनि राखेका छौँ ।’

मौसममा आएको परिवर्तनसँगै कैदीबन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उनले बताए । त्रिपालमुनि कैदीबन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च सावधानी अपनाइएको उनले जानकारी दिए। गर्मी मौसम सुरु भएसँगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उनले बताए । 

उनले भने, ‘छिमेकी जिल्ला नवलपुर (बर्दघाट– सुस्तापूर्व) कारागार कार्यालय नहुनुले पनि यहाँ कैदीबन्दीको चाप बढेको हो ।’ छिमेकी जिल्लाबाट आएका कैदीबन्दी र जिल्लाबाटै आउने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेको उनले बताए । कारागारमा आएका कैदीबन्दीको व्यवस्थापनका लागि कारागार व्यवस्थापन विभागसँग छलफल भइरहेको उनले जानकारी दिए।