रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?

सफल खबर संवाददाता

आइतबार, ०७ असार २०८३, १० : ३९
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा झन्डै चार हजार हाराहारी महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । 

रास्वपा नेतृ तथा महाधिवेशन उपसमिति संयोजक लिमा अधिकारीले ३९९० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाए पनि केही प्रतिनिधि अझै बढ्न सक्ने बताइएको छ । 

‘चार हजार हाराहारी प्रतिनिधि सहभागी हुने अहिलेसम्मको जानकारी छ’, रास्वपा सङ्गठन विभाग सचिव शंकर श्रेष्ठले भने, ‘अंक तलमाथि हुन सक्छ । प्रतिनिधि निश्चित भएपछि आइतबार बेलुकासम्म प्रारम्भिक नामावली प्रकाशित हुन्छ ।’

रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट सुरु हुँदैछ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त रुपमा उद्घाटन गर्दैछन् । महाधिवेशनले १९ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये एक सभापति सहित ९९ जना केन्द्रीय सदस्यको मात्र निर्वाचन हुनेछ ।