जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव

सफल खबर संवाददाता

आइतबार, ०७ असार २०८३, १२ : ३५
जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव

जेनेभा । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गर्नुभएको छ । यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ । 

युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरे। 

गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ ।

अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लंघन गरेको आरोप लगाउँदै ‘स्टे«ट अफ हर्मुज’मा जहाज आवागमनका लागि पुन:बन्द गरिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस