नेपालमा उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोत आवश्यक छ : अर्थमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १९ : १२
नेपालमा उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोत आवश्यक छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् ।

शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्यपि मुलुकभित्र रोजगारी अभावले युवा पलायन भइरहेको भन्दै नेपालमा रोजगारी सिर्जनाका कार्यक्रमको आवश्यकता रहेको बताए ।

एकातर्फ पूर्वाधार क्षेत्रमा उच्च रोजगारको आवश्यकता रहेको र अर्कोतर्फ काम गर्ने उमेरका युवाशक्ति काम र अध्ययनका लागि विदेशी रहेको सन्दर्भमा मुलुकभित्रै रोजगारी सिर्जना र उत्पादकत्व सिर्जना गनु आवश्यक रहेको उनले बताए ।

सोही अनुसारको स्रोत बढाउन उनले विकास साझेदारसँग आग्रह समेत गरे । उनले विश्व बैंकको यो प्रतिवेदन नेपालको नीति निर्माणमा सहयोगी हुने समेत विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले सरकार उच्च प्राथमिकता र चासो आर्थिक गतिविधिहरूलाई सहज बनाउनेतर्फ केन्द्रित रहेको बताए । उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक पुनरुत्थान हुनेमा आशा व्यक्त गरे ।

उनले भने, ‘राजस्व संकलन न्यून भएकाले सरकारले खर्चलाई प्राथमिकता दिँदै पुँजीगत खर्च बढाउने प्रयास गरिरहेको छ । हामीले वित्त स्थायित्वलाई दिगो स्तरमा कायम राख्न आवश्यक नीतिहरू अवलम्बन गरेका छौँ ।’

सार्वजनिक लगानीको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्न विश्व बैंक र अन्य विकास साझेदारहरूसँग पनि नजिकबाटै काम गरिरहेको उल्लेख गर्दै मन्त्री पुनले राष्ट्रिय परियोजना बैंकको कार्यान्वयन यसको एउटा उल्लेखनीय उदाहरण भएको दाबी गरे ।

उनले भने, ‘विश्व बैंकले अर्थ मन्त्रालय र अन्य सरकारी निकायको बृहत् आर्थिक पूर्वानुमान गर्न सक्ने क्षमतामा सुधार गर्न मद्दत गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस