रामहरि श्रेष्ठ हत्या प्रकरण

कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतको आदेश

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १४ : २३
कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतको आदेश

चितवन । व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल आइपुगेपछि हिजो खामको बयान सुरू भएको थियो । तर, वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जनामात्रै अधिवक्ताले बहस गर्न भ्याएपछि मुद्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

१५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो । कोटेश्वरका व्यापारी श्रेष्ठको २०६५ वैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । खाम त्यो बेला तेस्रो डिभिजनका कमाण्डर रहेका थिए । रामहरि श्रेष्ठको कोटेश्वरमा रहेको घरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।

कार्यालयबाट १७ लाख रूपैयाँ नगद र हतियार हराएपछि सोधपुछ छानबिनका लागि भनेर श्रेष्ठलाई शक्तिखोर ल्याइएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थाप विरूद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफै प्रहरीमा उपस्थित भएर ०६८ सालमा तीन वर्षको कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् ।