चैत २६ गतेबाट बिक्रमबाबा मेला, तोकियो खाना, खाजा र पार्किङको मूल्य

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १४ : ५१
चैत २६ गतेबाट बिक्रमबाबा मेला, तोकियो खाना, खाजा र पार्किङको मूल्य

चितवन। भरतपुर महानगरपालिकाले बिक्रमबाबा मेलालाई नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ ।बिगतका वर्षहरुमा मेलालाई महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण नभए पनि यसपटकबाट भने महानगर आफैंले मेला सञ्चालन गर्ने तयारी थालेको हो ।

Bikram-Baba-Temple

भरतपुर– २३ मा रहेको घैलाघारी सामुदायिक वन, केरुङ्गा उपभोक्ता समिति, क्लब तथा टोलविकास संस्थासँग समन्वय र सहकार्य गरी मेला सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुँदै आइरहेको छ ।

यस वर्ष पनि चैत २६ गते कृष्ण औँशीको दिनदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।मेलालाई सफल बनाउन बिक्रम बाबा मेला मूल समारोह समितिको संयोजकमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी छन् भने भरतपुर– २३ का वडा अध्यक्ष दीपक दवाडीको संयोजकत्वमा सात सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

मेलालाई सभ्य, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरी काम सुरु भइसकेको छ । मूल समारोह समितिका सयोजक एवम् नगर उपप्रमुख अधिकारीले भने, ‘महानगरपालिका यसपटकदेखि विक्रमबाबा मेलालाई महानगरको ब्रान्डको रुपमा स्थापित हुने गरी लैजान चाहन्छ ।’ उनले भने, ‘धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्नु हामी सबैको दायित्व हो ।’

महानगरपालिकाले मेला सञ्चालन अवधिभर आवश्यक पर्ने विभिन्न जिन्सी सामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरु मेला स्थलमा लैजान सुरु गरिसकेको छ । यस्तै मेला परिसरमा वडाको समन्वयमा सचिवालय गठन गरेर काम गर्न सुरु गरिसकिएको मेला कार्यसम्पादन समितिका सयोजक एवम् वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिए ।महानगरपालिकाले मेलामा प्रयोग हुने पार्किङ शुल्क दर पनि निर्धारण गरेको छ ।

जस अनुसार ठूला सवारीसाधनको लागि १०० रुपैयाँ, कारको लागि ८० रुपैयाँ, मोटरसाइकलको लागि २० रुपैयाँ र साइकलको लागि १० रुपैयाँ कायम गरिएको छ । त्यस्तै पानी २० रुपैयाँ, सादा खाना १५० रुपैयाँ, मःम १२० रुपैयाँ, चाउमिन ८० रुपैयाँ, जेरी पुरी एक सय रुपैयाँ र चिया २५ रुपैयाँ निर्धारण गरिएको छ । मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ ।

त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिने भएको छ । भक्तजनहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स, भइपरी आउने दैवीप्रकोप तथा उद्वारको लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रमबाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गर्नेछ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशत्र प्रहरी बलले लिने छ ।

हरेक वर्ष चैते दशैँको समयमा विक्रमबाबा मेला लाग्ने गर्छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्छन् ।

सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरेको पाईन्छ । चैते दसैँमा हजारौ भक्तजनले बिक्रमबाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजुङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाहरुबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस