सरकारले ३ प्रतिशत ब्याजदरमै उठायो १३ अर्ब सार्वजनिक ऋण

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १२ : ०९
सरकारले ३ प्रतिशत ब्याजदरमै उठायो १३ अर्ब सार्वजनिक ऋण

काठमाडौं । बजारमा अधिक तरलताको फाइदा सरकारले अल्पकालीन ऋणबाट उठाएको छ । मंगलबार १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुरै ट्रेजरी अधिकतम ३.०३९९ प्रतिशतमा बिक्री गरेको हो ।

कूल ट्रेजरीका लागि १८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ वटा आवेदन परेको थियो ।

प्रतिस्पर्धात्मक र प्रतिस्पर्धात्मक दुबै प्रणालीबाट बोलकबोलमा भाग लिएका बैंकहरुले प्रस्तावित ब्याजदरबाट न्यूनतम २.८००१ प्रतिशतदेखि अधिकतम ३.०३९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए । यसबाट औसत ३.०११३ प्रतिशत ब्याजदर कायम गर्दै पुरै (१३ अर्ब ५ करोड रुपैयाँ बराबर) ट्रेजरी बिक्री गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

त्यसो त सोमबार (हिजो) बाट मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋणपत्र तथा यससँग सम्बन्धित बण्डहरुको निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी लिएको हो । 

सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आएपश्चात ऋण व्यवस्थापन कार्यालयले यो जिम्मेवारी लिएको हो। यसअघि सरकारी ऋणपत्र तथा अन्य बण्डहरुको निष्कासन तथा असुली सबै व्यवस्थापन राष्ट्र बैंकले हेर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस