कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

सफल खबर संवाददाता

सोमबार, १९ चैत्र २०८०, २१ : ०३
कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

सुर्खेत । सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

मल्लले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेले लिने सहमति भएको जानकारी गराएको बताए ।‘कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सत्तारुढ गठबन्धन दलहरुबीच केन्द्रमा सहमति जुटेको छ’, उनले भने, ‘सोही अनुसार अध्यक्ष कमरेडले पनि नेतृत्व एमालेलाई छाड्न निर्देशन पनि दिइसक्नुभएको छ ।’

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए ।

यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामाजवादीका १ सांसद रहेका छन् । त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस