अवैध लागु औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १२ : २६
अवैध लागु औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ ।  देशका विभिन्न स्थानबाट लागु औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङकै सुन्दरहरैंचा नगरपालिका-३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागु औषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागु औषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीबाट अवैध लागु औषध गाँजा २ किलो १५ ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली लामाचौर गाउँपालिका-७ घर भएकी ३९ वर्षीया सुष्मा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै आवश्यक सोधपुछको लागि अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काभ्रेको पनौती नगरपालिका-५ नैकिङटार बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३८ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो काठमाडौं, जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

उता झापाको दमक नगरपालिका-३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित जानकी गाउँपालिका-७ बस्ने २६ वर्षीय राज कुमार चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीकै गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय माधव बिष्टलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस