उपेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १९ : २९
उपेन्द्र यादवलाई पदबाट बर्खास्त गर्न माग

काठमाडौँ । गौरहत्याकाण्ड पीडित संघर्ष समितिले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको विरोध गरेको छ । संघर्ष समितिको तर्फबाट संयोजक रुपसागर उपाध्यायले आइतबार जारी गरेको विज्ञप्तिमा यादवलाई पदबाट बर्खास्त गर्दै कानूनी कारवाईका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डसमक्ष माग गरिएको छ ।

विज्ञप्तिमा गौर हत्याकाण्डका मुख्य अभियुक्त उपेन्द्र यादवलाई मन्त्री बनाइनुले गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख छ । ‘अमानुषिक एवं विभत्स गौर हत्याकाण्डका अपराधीहरुलाई कारवाई गर्ने नेपाल सरकारले हामी पीडितसंग गरेको लिखित समझौता एवं प्रतिबद्धता विपरित उल्टै मुख्य अपराधीलाई नै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो’, विज्ञप्तिमा भनिएको छ ।

यस हर्कतले न्यायको परखाईमा रहेका आफूहरुलाई झन पीडित एवं मर्माहत बनाएको उनले बताए । ‘यसर्थ, यस गलत एवं घोर भर्त्सना योग्य निर्णयलाई तुरुन्त फिर्ता लिई उपेन्द्र यादवलाई पदबाट बर्खास्त गर्दै कानूनी कारवाईका लागि मार्ग प्रसस्त गर्न तथा देशमा मानव अधिकार तथा विधिको शासन लागू गर्न गराउन हाम्रो संघर्ष समितिको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू सहित सम्बन्धित सबै पक्षको विनम्रतापूर्वक गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमार्फत भनिएको छ । अन्यथा, पीडितहरु न्याय पक्षधर जनताहरुको सहयोगमा पुनः शशक्त सडक संघर्ष गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस