सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको फेरि रुलिङ

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १२ : १६
सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको फेरि रुलिङ

काठमाडौं । प्रतिनिधिसभामा उठेको विषयबारे आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले फेरि रुलिङ गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले सरकार जवाफदेही नबनेको आरोप लगाउँदै संसद अवरोध गरेपछि सभामुखले फागुन २१ गतेको बैठकमा आज र यसभन्दा अघि बढेको विषयको जवाफ दिन रुलिङ गरेका हुन् ।

बैठकमा एमाले सांसद सूर्य थापाले सभापतिले संसद्मा उठाएका विषयमा जवाफ दिन पटकपटक रुलिङ गर्दा पनि बेवास्ता गरेको आरोप लगाए । उनले- ‘सरकार जवाफदेही भएन सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो । प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि ? संसद् स्थगित गर्नुपर्ने हो कि ? कति दिन चाहिने ?’ उनले बालकुमारी घटनामा सरकारी आयोगले नै दोषी देखिएका मन्त्रीलाई बर्खास्ता गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरे ।

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा उठेको बिषयलाई सरकारले जवाफ नदिएकोप्रति आपत्ति जनाए । उनले दुग्ध किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै असन्तुष्टि जनाए। उनले रुसी सेनामा रहेका नेपाली फिर्ता ल्याउन पहल नगरेकोप्रति सरकारप्रति आक्रोश पोखे ।

उनले भने, हामी संसद्‍मा आवाज उठाएरमात्रै बस्नुको अर्थ के हुन्छ ? जनता आफैं सडकमा आउनुपर्ने ? अनि सरकारको काम के हो ? दलको काम के हो ?’ उनले सरकारको उपस्थिती संसद्मा नभएसम्म चलाउनुको अर्थ नहुने बताए ।

प्रतिक्रिया दिनुहोस