भारतबाट युरोपतर्फ डिजेलको आपूर्ति ९० प्रतिशतले घट्यो

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १३ : १४
भारतबाट युरोपतर्फ डिजेलको आपूर्ति ९० प्रतिशतले घट्यो

नयाँ दिल्ली । भारतबाट युरोपतर्फ डिजेलको आपूर्ति घटेर पछिल्लो दुई वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको छ । अमेरिकी सञ्चार माध्यम ब्लुमबर्गको रिपोर्ट अनुसार लाल सागरमा हुथी विद्रोहीको लगातार आक्रमणका कारण अन्तर्राष्ट्रिय व्यापारमा गहिरो असर परिरहेको छ । एसियाबाट युरोपेली संघ (ईयू) र बेलायत जाने कार्गोको ढुवानी शुल्क बढेको छ ।

यस्तो अवस्थामा पश्चिमा देशको सट्टा एशियामा सामान पठाउनु किफायती भएको छ । ‘फेब्रुअरीको पहिलो दुई हप्तामा भारतबाट दैनिक १८ हजार ब्यारेल डिजेल युरोप पुग्यो। यो जनवरीको औसत डेलिभरीको तुलनामा करिब ९०% कम हो ।’ भोर्टेक्सा लिमिटेडको तथ्यांकलाई उद्धृत गर्दै ब्लूमबर्गले भनेको छ ।

हुथीहरूको डरले दक्षिण अफ्रिकी बन्दरगाह भएर गइरहेका छन् जहाज

‘सिङ्गापुर जस्ता पूर्वी देशको निर्यात पश्चिमी मुलुकको तुलनामा निकै सुधारिएको छ । हुथीहरूको डरमा युरोप वा एट्लान्टिक बेसिनतर्फ जाने ट्याङ्कर दक्षिण अफ्रिकाको केप अफ गुड होप हुँदै जानु परिरहेको छ ।’ स्पार्टा कमोडिटीका विश्लेषक नोएल–बेस्विकले भने । यसले यात्राको दूरी बढेको छ । यसको प्रत्यक्ष असर ढुवानी लागतमा परेको छ।

 

फेब्रुअरीमा भारतबाट ईयूको कुनै देशमा पुगेन डिजेल

तथ्यांकअनुसार फेब्रुअरीमा एक पटक मात्रै डिजेल बोकेको ट्यांकर बेलायत पुगेको थियो । ईयूमा कुनै आपूर्ति भएन । यो महिनाको अन्त्यसम्ममा भने नेदरल्याण्डको रोटरडममा डिजेल बोकेका दुई जहाज पुग्नेछन् ।

यो महिना भारतबाट एसियाली मुलुकतर्फ डिजेल कार्गोको सङ्ख्यामा वृद्धि देखिएको छ । यीमध्ये केही ढुवानी बंगलादेश र साउदी अरबमा पनि पुगेका छन् । पीस भिक्टोरिया र ओरेन्ज भिक्टोरिया जस्ता जहाजहरूमा लोड गरिएका सामानहरू पूर्वी एसियामा पुर्याइएको छ ।

भारतको ८० प्रतिशत व्यापार समुद्री मार्गबाट

हरेक वर्ष विश्वको कूल व्यापारको १२ प्रतिशत र कन्टेनर ट्राफिकको ३० प्रतिशत लाल सागरको स्वेज नहर भएर जान्छ । हुथी विद्रोहीको आक्रमणका कारण युरोप र एसियाबिचको मुख्य मार्गमा हुने अन्तर्राष्ट्रिय व्यापारमा समस्या आइरहेको छ । भारतको ८० प्रतिशत व्यापार समुद्री मार्गबाट हुने गरेको छ । त्यस्तै, ९० प्रतिशत इन्धन पनि समुद्री मार्गबाटै आउँछ । सामुद्रिक मार्गमा भएको आक्रमणको प्रत्यक्ष असर भारतको व्यापारमा परिरहेको छ । यसबाट आपूर्ति शृङ्खला बिग्रने खतरा छ ।

हुथीविरुद्ध लड्न अमेरिका र बेलायतले उनीहरूविरुद्ध कारबाही गरिरहेका छन् । यी दुवै देशले मिलेर यमनमा हुथी विद्रोहीमाथि तीन पटक हमला गरिसकेका छन् । यस बाहेक अमेरिकाले करिब १० देशहरूसँग गठबन्धन पनि बनाएको छ, जसले लाल सागरमा हुथीहरूलाई रोक्न र कार्गो जहाजहरूलाई आक्रमणबाट बचाउन काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस