काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिटमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरूबारे पुनर्विचार गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
समिति सभापति भानुभक्त जोशीले बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएकाहरूबारे पुनर्विचार गर्नका लागि समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराएका हुन् ।
सर्टलिस्टमा बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए । सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो ।
खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा सम्बन्धनका क्रममा अनियमितता गरेको र त्रिविका बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको भन्ने विषय संसदीय समितिमा सांसदहरूले उठाएका थिए ।
त्यस्तै, त्रिविका कार्यवाहक उपकुलपति भुसालले हालै गरेका नियुक्ति र निर्णयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । समिति सदस्य विद्या भट्टराईले भुसालले गरेका कानुन विपरीतका निर्णय रद्द गर्नुपर्ने बताएकी थिइन् ।
सांसद तोसिमा कार्कीले उपकुलपति सिफारिस समितिलाई बौद्धिक चोरीमा संलग्न रहेको मान्छेलाई सर्टलिस्ट नराख्न निर्देशन दिनुपर्ने माग गरेकी थिइन् । त्यस्तै, कार्यवाहक हुँदैमा भागबण्डा गरी नियुक्ति गर्ने भुसाललाई पनि सर्टलिस्टबाट हटाउनुपर्ने उनको माग थियो । सांसद कालुराम राईले भुसाल, खनियाँ र बराललाई सर्टलिस्टबाट हटाउन माग गरेका थिए ।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने तर बौद्धिक चोरीको विषयमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापा
विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न बन्यो समिति
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त