संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने शक्तिहरूविरुद्ध एकजुट हुन नेसपाको आह्वान

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १३ : २५
संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने शक्तिहरूविरुद्ध एकजुट हुन नेसपाको आह्वान

काठमाडौँ । नेपाल समाजवादी पार्टीले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन बाँकी रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई राजनीति सहमतिमा छिटो टुङ्ग्याउन माग गरेको छ । शनिवार केन्द्रीय समिति बैठकले अनुमोदन गरेको समसामयिक विषयमा दलहरूबिच सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न सो पार्टीले माग गरेको हो ।

यस्तै द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न खोज्ने शक्तिहरूका प्रतिगामी हर्कतहरुको बैठकले भर्त्सना गरेको निर्णयमा उल्लेख गरेको छ । साथै पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा  केन्द्रीय सदस्य जीतमान पुन (मार्सल) लाई तत्काल रिहाइ गर्न र मधेस आन्दोलन, थरुहट आन्दोलन लगायत मुद्दाहरू फिर्ता लिन माग गरेको छ ।

बैठकले संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धिहरूलाई उल्टाउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै राष्ट्रको समृद्धि, जनआकाङ्क्षाहरूको परिपूर्ति र राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन संविधान संशोधन गर्नसमेत माग गरेको छ ।

साथै प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहारमाथि सजग रहन प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गरेको छ । बैठकले पछिल्लो समसामयिक राजनीति, आर्थिक तथा सुशासन लगायत ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस