एमाले सांसदलाई ओलीको निर्देशन- संसदमा गलत बोल्नेको विरोध गर्नू

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १८ : ३२
एमाले सांसदलाई ओलीको निर्देशन- संसदमा गलत बोल्नेको विरोध गर्नू

काठमाडौँ। प्रमुख प्रतिपक्ष दली नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदलाई सचेत गराए। आइतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदको ध्यानाकर्षण गराए। गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो। 

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाई पाऊँ भन्नु स्वाभाविक हुने भए पनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताए। ‘हामीहरुको एउटा चलन छ– रेकर्डबाट त्यो शब्द हटाईयोस् भन्ने। रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन। त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ‚ विरोध गर्नुपर्छ त्यसको तर रेकर्डबाट हटाईयोस् भन्नु पर्दैन‚’ उनले भने, ‘अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ? गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ। हामीले विरोध गरेपछि पुगिहाल्यो नि। हामीले उसको गल्ती किन सच्याईदिने?’

सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ।ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पारे।

‘हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ? मैले नबुझेको के छ र? भन्ने लाग्नसक्छ। म आफैँ पार्लियामेण्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ‚’ उनले भने, ‘म आफैँले काम गरिराखेको छु भन्ने पनि लाग्नसक्छ तर कतिपय प्राविधिक विषयहरु, कतिपय वैचारिक विषयहरु, वैचारिक विषयहरुमा पनि स्पष्टता झन बढी झन स्पष्टताको आवश्यक्ता पर्छ। तसर्थ, अझ प्राविधिक विषयहरु, के, कस्ता प्रश्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो थाहा पाउन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस