‘भ्यालेन्टाइन डे’को अवसरमा सौराहामा फुड फेष्टिवल हुने

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १५ : ३४
‘भ्यालेन्टाइन डे’को अवसरमा सौराहामा फुड फेष्टिवल हुने

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा फुड फेस्टिबल हुने भएको छ । भ्यालेन्टाइन डे अर्थात् ‘प्रणय दिवस’ को अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा माघ २८ देखि फागुन ३ गतेसम्म १८ औं संस्करणको फेस्टिबल हुन लागेको हो ।आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ खाना, संगीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिबल गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

फेस्टिबलमा सञ्चालन हुने पर्यटन प्रवद्र्धनात्मक गतिविधिले कालान्तरसम्म पर्यटक भित्र्याउँन टेवा पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । अध्यक्ष गिरीले कार्यक्रम सम्पन्न गर्नका लागि ६० लाख रुपैयाँ अनुमानित खर्च लाग्ने बताए । उनले भने, ‘कार्यक्रम सम्पन्न गर्नका लागि ६० लाख खर्च लाग्ने हामीले अनुमान गरेका छौं । कार्यक्रम अवधिभर अनुमानित तीन करोडसम्म कारोबार हुनेछ ।’ कार्यक्रममा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरेको अध्यक्ष गिरीको भनाइ छ ।

कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी फेस्टिबलको गतिविधिलाई अगाडि बढाइएको बताए । विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला संस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उनको भनाइ छ ।

पाँचदिनसम्म चल्ने फेस्टिबलमा बहु जातजातिहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको सांगितीक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता हुने भएको छ । साथै प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको मुख्य सह–आयोजक रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन र सह–आयोजक युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड रहेको पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७९÷२०८० मा करिव तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा करिब एक लाख पचास हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको तथ्याङ्क प्राप्त भएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी हामीले फेस्टिबलका गतिविधिलाई अगाडि बढाउँदै छौं ।’

 

प्रतिक्रिया दिनुहोस