सबै प्रदेशका आफ्नै प्रहरी संगठन र कर्मचारी हुनुपर्छ : विमलेन्द्र निधि

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १९ : ३१
सबै प्रदेशका आफ्नै प्रहरी संगठन र कर्मचारी हुनुपर्छ : विमलेन्द्र निधि

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् । उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको बताए ।

‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको हो । त्यसपछि राजनीतिक दलको हो । सबै प्रदेश सरकारको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा म गृहमन्त्री हुँदा पनि भनेको हुँ । तर, म लामो समयसम्म जिम्मेवारीमा रहन सकिन । पटक-पटक प्रधानमन्त्री, काँग्रेस सभापतिसँग तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो कुरा राखेको छु ।’

उनले संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको बताए । उनले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरू सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भनेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस