काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोष अन्तर्गत रहेको तर हराइरहेको जग्गाको खोजी गर्न कोषलाई निर्देशन दिएका छन् ।मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा बोल्दै मन्त्री किरातीले पशुपतिको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिँदै हराएको जग्गाको खोजी गर्न समेत निर्देशन दिएका हुन् ।
बैठकको एजेण्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किरातीले कोषको जग्गामा हैकम जमाएर व्यवशायीक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । तत्काल कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिशान घर खाली गराउन मन्त्री किरातीको निर्देशन अनुसार बोर्डले निर्णय गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको काठमाडौँ महानगरपालिका वडा नम्बर ८ गाँचा पोखरीस्थित साबिक कित्ता नम्बर ९३, हालको कित्ता नं १०२,३३३,३३५,११०,४१९,३११,२८६,११२,११७,२८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाएर भोगचलन गर्दै आएका छन् ।
त्यस्तै वडा नं ३ भगवानस्थानमा साबिक कित्ता नं ५१बाट हालको कित्ता नं १४३,१४४,६५,२८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको पाइएको छ ।
त्यस्तै सिफलस्थित लामा पोखरी रहेको कित्ता नं १३५,१८०,८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन् । यी जग्गामा रहेको संरचना हटाउनका लागि कानुनी प्रक्रिया पुरा गरी प्राविधिक मुल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ ।
बोर्डका सदस्य समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक मुल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन् ।
त्यस्तै गोठाटारसँगै पशुपतिको क्षेत्रविकास कोषको नाममा देशभरि रहेको जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने समेत बोर्ड बैठकमा निर्णय भएको छ । हराएको जग्गा खोजीका लागि पूर्वसचिव स्तरीय उच्च समिति गठन गरिने मन्त्री किरातीले बताए ।
यससँगै विवादित पशुपति आर्यघाटको आरतीको विषयमा सत्यतथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १४ : ४२
लेखकबाट थप