‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १४ : ३३
‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।  बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।

नेतृ राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन् ।

उनले यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक रहेको बताइन् । विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन् ।

नेतृ राणाले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन् । उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।

नेतृ राणाले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस