वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, १२ : २६
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरेको छ । समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्र मन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् ।

‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रम मन्त्री र परराष्ट्र मन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रूपमा छलफल गरेर के-के समस्या रहेछ भनेर हेर्ने हो’ उनले भनिन् ।

समितिले आफूले देखेको उपाय श्रम मन्त्रालयलाई दिनेछ । राणा थप्छिन्, ‘हामी दुई तीन राउण्ड बसिसकेका छौँ ।’ कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था रहेको समेत उनले बताइन् ।

‘युएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरूले १ हजार रियाल पाउने रहेछन् तर हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।’ यस्ता समस्याको समाधानको उपाय समितिले सुझाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस