मेघौलीमा स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को सुटिङ हुने

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, ११ : २४
मेघौलीमा स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को सुटिङ हुने

चितवन ।  अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै फिल्म निर्माणमा पनि हात हालेकी छिन् । उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।

उक्त फिल्मको सुटिङ भरतपुरको मेघौलीमा हुने भएको छ । फिल्मको लागि मेघौलीमा उपयुक्त ठाउँको खोजी गर्ने क्रममा कच्ची बाटो भेट्नै मुश्किल परेको स्वस्तिमाका श्रीमानसमेत रहेका कलाकार निश्चल बस्नेतले बताए । जताततै व्यवस्थित पिच देखेको भन्दै उनले धेरैलाई रोजगारी दिनेगरी व्यवसाय गर्नेलाई सहुलियत दिने नीति पनि आवश्यक रहेको फेसबुमा लेखेका छन् ।

स्वस्तिमाले पनि ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी छन् । फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी गराएकी छिन् । फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ । पछिल्लो समय दुवैले ‘दिमाग खराब’मा काम गरेका थिए ।

फिल्मका लागि विजय बराल फाइनल भइसकेको जानकारी गराइएको छ । बाँकी कलाकार भने केही समयमा सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ फागुनबाट गर्ने तयारी निर्माण टिमको छ । स्वस्तिमाले ‘चपली हाइट ३’ मुनाफाको साझेदारको रुपमा काम गरेकी थिइन् ।

कोभिड महामारीको समयमा बारम्बार रिलिज भएको चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । फिल्म निर्देशनमा डेब्यु गर्न लागेका आकाश बरालले ‘दिमाग खराब’ ‘बिहे पास’ आदि फिल्म लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस