भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्जयानी चिन्ह

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १५ : ५७
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्जयानी चिन्ह

चितवन । भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय नरेन्द्रकुमार रानाले २८ जना नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरेकी हुन ।

महानगरको नगर प्रहरीको कमाण्ड नगर प्रहरी नायव उपरीक्षक हरि कृष्ण ढकालले सम्हालेका थिए ।नेपाली सेनाको प्रमुख सेनानीबाट अवकाश पाएका ढकालले भरतपुर महानगर प्रहरीमा प्रवेश गरेका हुन । दर्ज्यानी चिन्ह ग्रहण गरेसँगै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ढकालले मध्य नेपाल सभ्य, सुन्दर र सुसंस्कृत भरतपुर महानगर बनाउने अभियानमा प्रतिबद्ध रहेको बताए।

नगर प्रहरीले गर्नुपर्ने महानगरपालिकामा देखिएका प्रमुख समस्यालाई समधान गर्न नगर प्रहरी कुनै पनि त्रास बिना अगाडि बढ्ने उनको भनाई थियो । गत असोज १४ गते नगर प्रहरी नयाब उपरीक्षकसहित ३० जना नगर प्रहरी माग गरेको थियो । ३० जना माग भएकोमा २८ जनामात्रै छनोट भएका छन् । महानगरमा भईरहेको सहरीकरणसँगै महानगरपालिकाभित्र नगर प्रहरीले गर्नुपर्ने काम वृद्धि भएपछि आवेदन माग गरेको थियो ।

महानगरपालिकामा नयाँ २८ जना नगर प्रहरी थप भएसँगै नगर प्रहरीको संख्या ८३ जना पुगेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए। नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरण लगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ ।

नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।

प्रतिक्रिया दिनुहोस