बालकुमारी घटनामा दुई युवक मारिएकोमा सरकार गम्भीर बनेको छ : सञ्चारमन्त्री शर्मा

बालकुमारी घटना

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १६ : २९
बालकुमारी घटनामा दुई युवक मारिएकोमा सरकार गम्भीर बनेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले शुक्रबार बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको विषयमा सरकार गम्भीर बनेको बताएकी छिन् ।

शनिबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन गरिएको पत्रकार भेटघाटमा उनले सो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छानबिन समिति बनाएको र केही कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिएन ।

मन्त्री शर्माले गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी, डिएसी र मन्त्री ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको जानकारी दिइन् । शुक्रबारको घटनामा सुरक्षा कमजोरी भएको बताउँदै अदालतको फैसला ३ बजे आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र सम्मयता अपनाउन नसक्दा क्षति हुन पुगेको उनले बताएकी छिन् ।

मन्त्री शर्माले भनिन,‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दापनि स्वतः स्फूर्त रुपमा जुलुस भएको हो । करिब ३ बजे अदालतको पूर्ण फैसला आउने भन्दापनि ठीक ढंगले सञ्चार गर्न सकिएन । आन्दोलनमा उत्तेजना हुने गर्छ । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढंगले छलफल पनि गरेका छौँ। त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डीएसपी, पीएसओ, उपसचिवलगायतका कर्मचारी निलम्बित भएका छन् ।’

सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले छानबिन प्रक्रियालाई अघि बढाइएको जानकारी दिइन् । शुक्रबार ललितपुरको बालकुमारीमा कोरियामा कामदारका लागि जान लिने भाषा परीक्षाको फारम भर्न नपाएका युवाहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस