साउदी हिँडेका पाल्पाका युवक विक्रम पंगेनी विमानस्थलबाटै सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, १२ : २७
साउदी हिँडेका पाल्पाका युवक विक्रम पंगेनी विमानस्थलबाटै सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

बुटवल। साउदी अरब जान भनी घरबाट हिँडेका पूर्वखोला गाउँपालिका  १,  पाल्पाका विक्रम पंगेनी सम्पर्कविहीन भएपछि उनको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्।​

 

साविक सिलुवा गाविस वडा नम्बर ९ हाल पूर्वखोला गाउँपालिका वडा नम्बर १ माझकोट कइनपानी घर भएका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस ३ गते मंगलवार घरबाट काठमाडौं गएको विक्रमका बुबा जगन्नाथ पंगेनीले बताए ।

करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए ।फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ (पुस ६ गते) ००ः४५ मा काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने उनको टिकट रहेको विक्रमका दाजु सागर पंगेनीले बताए ।

 

 

सागरका अनुसार शुक्रवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि सम्पर्कमा छैनन् । विक्रमले चलाउने मोबाइल नम्बरमा पठाएका कुनै पनि म्यासेजको जवाफ नआएको सागरले जानकारी दिए ।

भाइ विक्रमको खोजी गरिदिन सोमवार इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको सागरको भनाइ छ ।आफन्तमार्फत फ्लाई दुवईको काठमाडौंस्थित काउन्टरमा बुझ्दा २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएपछि परिवारजन झनै चिन्तामा रहेको ठूलोबुबा ठाकुर पंगेनीले बताए । ​

फ्लाई दुवईको जहाज छुटिसकेपछि विक्रम विमानस्थलबाट शुक्रवार राति नै बाहिर निस्केको आशंका गरिएको छ ।‘विमानस्थलको सीसीटीभी फुटेज हेर्दा राति साढे ११ बजेतिर विक्रम बाहिर निस्केर प्रतीक्षालयसम्म पुगेको देखिएको छ । त्यहाँ उनले एक जना मानिससँग कुरा गरेकोजस्तो देखिएको छ, तर त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन’, विक्रमका ठूलो बुबा ठाकुर पंगेनीले भने ।

विक्रमको खोजीका लागि परिवारजन मंगलवारदेखि काठमाडौंमा छन् ।विक्रमको खोजीमा सहयोग गर्न परिवारजनले सबैमा अनुरोध गरेका छन् ।विक्रमको बारेमा जानकारी पाएमा फोन नं. ९८६९४५७५४६, ९८५७०३९७३८ वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न पनि परिवारजनले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस