१८ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०८०, ०९ : ०१
१८ वर्ष मुनिकालाई मदिरा बेच्न नपाइने

विराटनगर । इलामको सूर्योदय नगरपालिकाले साँझ ५ बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने नियम लागू गरेको छ । यस्तै, १८ वर्षभन्दा मुनिका बालबालिकालाई मदिरा बेच्न नपाइने नियम पनि बनाइएको छ ।

कार्यपालिका बैठकबाट मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै यस्तो व्यवस्था गरिएको प्रवक्ता ख्यामबहादुर भुजेलले बताए ।

दिउँसै मदिराले लट्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिरा बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको भुजेलले बताए ।

कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचबिखन गर्न निषेध गरेको छ । इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गरेको छ । 

मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउँदो नगरसभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ ।

नगरपालिकाको १४औँ नगरसभा माघ १० गते बस्दै छ । नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य बस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।