पर्सामा धान उत्पादन घट्यो

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, १६ : ३१
पर्सामा धान उत्पादन घट्यो

वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान उत्पादन घटेको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु, धानबालीमा गवाँरो कीराको सङ्क्रमण हुनुलगायत कारणले गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्सामा कूल धान रोपाइँ हुने खेतीयोग्य जग्गामध्ये आव २०७९/८० मा ९५ प्रतिशतअर्थात् ४५ हजार चार सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको केन्द्रका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए । उनका अनुसार प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनका दरले एक लाख ८६ हजार दुई सय ६३ मेट्रिक टन धान उत्पादन भएको छ ।

आव २०७८/७९ मा ४५ हजार चार सय ६० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर चार दशमलव चार मेट्रिक टनका दरले दुई लाख २४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कुशवाहाले बताए। उनका अनुसार जिल्लामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएका छन् । 

 

धान रोपाइँ समयमा नहुनु, वर्षा नहुनु, सिँचाइ तथा मल अभाव, रोगको सङ्क्रमणलगायत कारणले उत्पादन घटेको प्रमुख कुशवाहाको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस