मध्यपहाडि पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्छ : महासचिव पोखरेल

सफल खबर संवाददाता

मंगलबार, ०३ पुस २०८०, ०९ : ५९
मध्यपहाडि पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्छ  : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मध्यपहाडि पुष्पलाल लोकमार्गको लम्बाई घटाउनु पर्ने बताएका छन् । 

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडि राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाई घटाउनु पर्ने पोखरेलले बताए ।

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति वृद्ध, वृद्दा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाईएको पोखरेलले बताए । यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि उनले बताए ।

यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।

यात्राको क्रममा जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको पोअरेलले बताए । उनले यात्राले पहाडि क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उनको भनाइ छ । 

पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएको पोखरेलले बताए ।

यात्राको क्रममा सुन्तला,स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाईभर्सनको काम भईरहेको उनले बताए । कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए ।

कोशी प्रदेशमा विरोधको स्वर सुनिएको बताउँदै उनले पहिचानको नाममा एमाले केन्द्रीत विरोध भएको भएपनि जनताको तहमा त्यो खालको विरोध नसुनिएको उनले बताए । पोखरेलले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भएपनि मिडियाले सही सूचना सम्प्रेसण नगरेको बताए । 

उनले एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै एकल पहिचानको मुद्दा लिएर चुनाबमा जानेहरू नै कोशीको पक्षमा आएको बताए । त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको पोखरेलले बताए । 

प्रतिक्रिया दिनुहोस