काठमाडौँ। कोशी प्रदेशको प्रदेश सभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ । गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए ।
उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल सुरु गरिएको बताइन् । अब प्रदेश सभाको अर्को बैठक बुधबार बस्दै छ । उपसभामुख दनुवारले बुधबारको प्रदेश सभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैकालागि दलहरूसँग छलफल गरिरहेको बताइन् ।
कोशीमा राप्रपाले सभामुखमा दाबी गर्ने जनाएको छ । त्यसो त सत्ता गठबन्धनले पहिले नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।
यसअघि मुख्यमन्त्री केदार कार्कीलाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन । मुख्यमन्त्री कार्कीले राप्रपालाई समेत साथमा लिएर प्रदेशसभामा बलियो बहुमत कायम राख्ने रणनीतिमा देखिएका छन् ।
सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान छ । हाल उपसभामुख रहेकी दनुवार नेकपा एमाले पृष्ठभूमिबाट आएकी हुन् । सरकारबाट बाहिरिएको एमालेले सभामुखमा दाबी गरे उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यसअघि सभामुख रहेका गौतम सर्वसम्मत सभामुख चयन भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग