मध्य पहाडमा एमालेलाई जनताको अपार समर्थन छ : महासचिव पोखरेल

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, ०९ : ०७
मध्य पहाडमा एमालेलाई जनताको अपार समर्थन छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्य पहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको दाबी गरेका छन् । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म मध्य पहाडी लोकमार्गको यात्रामा रहेको एमालेका महासचिव पोखरेलले मध्य पहाडमा एमालेलाई जनताको अपार समर्थन प्राप्त भएको बताए । 

बिहीबार बिहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकमार्गको पूर्वपश्चिम यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताए । 

एमालेको सङ्कल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको भन्दै उनले यात्राले समाजमा फैलिएको नकारात्मक मनोविज्ञानलाई चिर्न र गलत प्रवृत्तिलाई पाखा लगाउन समेत सहयोग पुर्याएको दाबी गरे । 

उनले मध्य पहाडमा आर्थिक विकास र समृद्धिको ठुलो सम्भावना कायम रहेको बताए । ‘मध्य पहाडमा पूर्वाधारको विकास र बसाईसराईंको प्रवृत्ति जसरी बढ्दो छ, यसलाई कसरी रोक्न सकिन्छ भनेर बुझ्न चाहेका थियौँ,’ पोखरेलले भने, ‘यति यात्रा गरिसकेपछि हामी मध्य पहाडी लोकमार्ग भविष्यमा नेपालको समृद्धिको आधार बन्न सक्छ भन्ने निष्कर्षमा पुगेका छौँ । मध्य पहाडमा अझै पनि सम्भावना टरिसकेको छैन ।’

उनले मध्यपहाडको जीवनस्तर उकास्न फलफूल खेतीलाई आधार बनाउन सकिने बताए । ‘मध्य पहाडमा जनताले सुन्तलाबाट स्वागत गरे, हिमालसँग जोडिएका जिल्लामा स्वाउले स्वागत गरे, पहाडी क्षेत्रको विकास र आर्थिक संमृद्धिका लागि फलफूल खेतीलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने आधारहरू देखिएको छ,’ उनले भने । 

महासचिव पोखरेलले यात्राका क्रममा जनताले स्थानीय परिकार, पहिचान र संस्कृतिले स्वागत गरेको भन्दै त्यसको पहिचान र प्रचारका लागि समेत सहयोग पुगेको बताए । 

१३ मङ्सिरमा झुलाघाटबाट सुरु भएको एमालेको सङ्कल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदै छ । 

प्रतिक्रिया दिनुहोस