बिमस्टेक सार्कको विकल्प होइन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १८ : ०७
बिमस्टेक सार्कको विकल्प होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सार्कको  विकल्प नभएको बताएका छन् । काठमाडौंमा सुरु भएको चौथो बिमस्टेक सम्मेलनलाई उदघाटन गर्दै ओलीले भने, ‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

बिमस्टेकलाई विश्वले चासोका साथ हेरिरहेको उल्लेख गर्दै ओलीले जनसङ्ख्या र अर्थतन्त्रको विशालताले बैठकले गर्ने निर्णयले  विश्वव्यापी प्रभाव कायम गर्ने धारणा राखे ।

सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले भने ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण(पूर्वी एसियालाई पनि गाँस्छ ।’ बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।
‘हामी प्राकृतिक प्रकोपलाई समान रुप भोगिरहेका छौं नै साथै हामी आफूले नगरेको काममा पनि सजाय भोगि रहेका छौं’, ओलीले भने, ‘हामी हिमालको काखमा छौं , हाम्रा नदीहरु हिमालय हुँदै बङ्गालको खाडीमा पुग्छन् र त्यहाँबाट बादल भएर पुन यही आईपुग्छन् । तीनको गढबढीले हिमनदी तथा बाढी हामीले भोगिरहेका छौं ।’

प्रकृतिले हिमालय र बङ्गालको खाडीमात्र निर्माण गरेको नभई औद्योगिक क्रान्तिको चरणमा रुपान्तरणको प्रक्रिया पनि तिब्र रुपमा भइरहेको ओलीले बताए । यसले सबै सदस्य राष्ट्रका बीचमा  अबसर र चुनौती दुबै रहेको ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म पनि रहेको बताए । उनले यस क्षेत्रका देशलाई एक आपसमा जोड्न र पर्यटन विकासका लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण रहेको धारणा पनि राखे ।

बिमस्टेक सदस्य राष्ट्रहरुको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । चरम गरिबीले दुष्चक्रतिर डोर्‍याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको ओलीको निश्कर्ष थियो । बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।

बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको उनले सम्मेलनमा बताए । ओलीले भने, ‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पुरा गर्न अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भावबिना आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस